Logo

सांसद अर्यालको पहलमा ५० लाख बराबरको राहत वितरण



पथरी मोरङ, ११ भदौ । काँग्रेस केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले उहाँको एक्लो प्रयासमा करिब रु ५० लाख मूल्य बराबरको खाद्यान्न र अन्य सामग्री बाढीपीडितलाई राहतका रुपमा वितरण गर्नुभएको छ ।

बाढी शुरु भएयता १३ दिनमा अर्यालले विराटनगरसहित जहदाका १० हजारभन्दा बढीलाई राहत दिनुभएको हो । सांसद अर्यालले एक हजार ६०० क्विन्टल चामल, तीन हजार त्रिपाल, ५०० क्विन्टल दाल, ५०० क्विण्टल चिउरा र भुजा, १० हजार थान झुल वितरण गर्नुभयो ।

अर्यालको पहलमा जहदामा एक हप्तासम्म भोजन गराइएको थियो । एलाइन्स फर डिजास्टर रिलिफ काठमाडौँको सहयोगमा सांसद अर्यालले जहदाका बासिन्दलाई वितरण गर्नुभयो ।

जहदा–३, ४, ५ र ७ वडाका ५५० परिवारलाई १५ किलो चामल, तीन किलो दाल, एक–एक लिटर तेल, नून, एक पौवा मसला, एक थान त्रिपाल र एक थान झुल वितरण गरियो ।

रिलिफका संयोजक विकास सापकोटाको नेतृत्वको टोलीले रु १५ लाख बराबरको राहत अर्यालमार्फत वितरण गरिएको हो । अर्यालले मोरङ–५ का बाढीपीडितलाई पहिलोचरणमा न्यूनतम आवश्यकताका राहत वितरण गरिएको र दोस्रो चरणमा फाउण्डेशनबाट एक हजारलाई नयाँ घर बनाइदिने बताउनुभयो ।

बाढीपीडितलाई गाँस बासकै समस्या, रातभर जाग्रम बस्न बाध्य

यसैगरी बाढीपीडितले भोकभोकै पालमुनि जाग्रम बसेर रात काट्नु परेको गुनासो गरेका छन् । आएका राहत कता गए कसैलाई अत्तोपत्तो छैन । सरकारी संयन्त्र सबैको घरघरमा राहत पु¥यायौँ भनिरहेको छ । बाढीपीडितलाई आवास र खानपिनको व्यवस्था गर्न सरकारले प्रतिव्यक्ति दैनिक रु ७० प्रदान गरेको छ ।

तर विराटनगर महानगर–७ का बाढीपीडित अहिले पनि त्यस्तो सेवाबाट वञ्चित छन् । बाढीपीडित विराटनगर–७ का दिनेश सहनीको घर साउन २७ गते आएको बाढीले बगायो ।

दाताहरुले चलाउने दैनिक मेसबाट गुजारा चलेको थियो । अब दाता पनि आउन छाडेका छन् । ३०० भन्दा बाढी प्रभावितको अवस्था एकै ठाउँमा यसरी समस्याग्रस्त छ । उहाँहरुमा बिहान खाए साँझ के खाने समस्या छ । रासस



प्रतिक्रिया दिनुहोस्