Logo

पर्यटन विकासमा वाणिज्यदूतको भूमिका



काठमाडौँ, १२ भदौ । विभिन्न देशका लागि नियुक्त भएका अवैतनिक नेपाली वाणिज्यदूतले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाएर पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपालको पदयात्रा पर्यटन विकासका लागि स्थापना भएको ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल टानले आइतबार यहाँ आयोजना गरेको ‘नेपालको पर्यटनमा अवैतनिक वाणिज्यदूतको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँहरुले हवाइसेवाको पहुँच नहुनु, राजनीतिक अस्थिरता र नेपालका बारेमा नकारात्मक प्रचार बढी हुने गरेकाले पर्यटन आगमनमा असर पर्ने गरेको भन्दै पर्यटन विकासका लागि कमी कमजोरी सच्याइ सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो ।

बेल्जियमका लागि अवैतनिक वाणिज्यदूत आङछिरिङ शेर्पाले द्विपक्षीय सम्बन्ध स्थापना, सांस्कृतिक आदानप्रदान, व्यापार अभिवृद्धि गर्ने आफ्नो दायित्व भए पनि पर्यटन प्रवद्र्धनका लागि आफूले देशका प्राकृतिक सौन्दर्य, साहसिक पदयात्रा र अद्वितीय पर्यटकीय सम्पदाका बारेमा जानकारी गराएको बताउनुभयो ।

पोर्चुगलका लागि अवैतनिक वाणिज्यदूत राजेन्द्र खेतानले पर्यटन विकासका लागि नेपाल पर्यटन बोर्डलाई सक्रिय बनाइ पर्यटन व्यवसायी संस्थाको पहलमा विदेशी दूतावाससँग समन्वय गर्न टोली गठन गर्नुपर्ने सुझाव दिनुभयो ।

लग्जम्बरका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछानेले बेलाबखत पर्यटक आउने मुलुकका राष्ट्रले ‘ट्राभल एडभाइजरी’ जारी गर्ने हुँदा नेपालको अवस्थाको सत्यतथ्यको जानकारी समयमै गराउनसक्नुपर्ने धारणा राख्नुभयो ।

टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले वाणिज्यदूतसँग पर्यटन क्षेत्रलाई महत्व दिन आग्रह गर्दै नेपालको पदयात्रा र साहसिक पर्यटनको महत्वबारेमा अझ बढी प्रचारप्रसार गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

कार्यक्रममा चिलीका अवैतनिक वाणिज्यदूत वसन्त मिश्र, माल्टाका अवैतनिक वाणिज्यदूत दिनेश श्रेष्ठ र युक्रेनका अवैतनिक वाणिज्यदूत करण वैद्यले नेपालको कम लगानीमा बढी प्रतिफल प्राप्त हुने आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन उद्योगका लागि सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्ने विचार व्यक्त गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्