Logo

माओवादी पहिलो पटक चुनावमा, अखिल क्रान्तिकारीमा चुनावमा बाट नेता छानिदै



१० वर्षे सशस्त्र संघर्षसँगै २०६३ सालमा शान्तिप्रक्रियामा प्रवेश गरेको नेकपा माओवादी केन्द्र र उसका भ्रातृ संगठनको इतिहासमा पहिलोपटक नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।माओवादी केन्द्रले यसअघि पार्टी, पार्टीको सहायक संगठन र भ्रातृ संगठनहरूको नेतृत्व चयन सहमतिको नाममा मनोनीत गर्दै आएको थियो । माओवादी केन्द्रनिकट विद्यार्थी भ्रातृ संगठन अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनले भने निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने भएको छ । २०५२ सालमा माउ पार्टी नेकपा माओवादीले सशस्त्र विद्रोह थालेयता हालसम्म पार्टीका दुईवटा महाधिवेशन भएका छन् । दुईमध्ये एउटा महाधिवेशन भने मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले काठमाडौंमा गरेको थियो । सो महाधिवेशनले समेत सहमतिमै नेतृत्व चयन गरेको थियो ।
पछिल्लोपटक हेटौंडामा सम्पन्न महाधिवेशनले समेत पुष्पकमल दाहाल नेतृत्वमा सिंगो केन्द्रीय समिति सहमतिकै आधारमा चयन गरेको थियो । माओवादी केन्द्रका एक सहायक संगठन (वाईसीएल), प्रमुख र सहायक गरी २१ भ्रातृ संगठन छन् । ती सबैमा हालसम्म सहमतिमै नेतृत्व चयन हुँदै आएका छन् ।

क्रान्तिकारीको यो २१औं एकता महाधिवेशन हो । २०५१ सालदेखि अस्तित्वमा आएपछिको अखिल क्रान्तिकारीले पनि पहिलोपटक निर्वाचनको प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न लागेको हो । माओवादी घटक संगठनहरूबीच नेतृत्व चयनका लागि अन्तरपार्टी चुनावी प्रतिस्पर्धा यो पहिलोसमेत हो । पार्टी सचिवालय सदस्य तथा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने पार्टीको अबको गन्तव्यसमेत यो निर्वाचनले निर्धारण गर्ने बताउँछन् ।७ भदौदेखि जारी राष्ट्रिय सम्मेलनअन्तर्गत नेतृत्व चयनका लागि मंगलबार (आज) निर्वाचनको कार्यतालिका छ । निर्वाचन समिति संयोजक रमेश मल्लले मंगलबार निर्वाचनको कार्यतालिका भए पनि उम्मेदवारहरूको मनोनयन धेरै भएको र प्राविधिक विषय मिलाउँदा ढिला हुन सक्ने सम्भावनासमेत रहेको बताए ।
अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमा रञ्जित तामाङ, अनिल शर्मा र मदन अर्याल छन् ।

क्रान्तिकारी पूर्वअध्यक्ष तथा पार्टी सचिवालय सदस्य न्यौपानेले माओवादी संगठनहरूबीच पहिलोपटक नेतृत्व चयनका लागि निर्वाचन हुन गइरहेको बताए । ‘यो विधि अर्थात् एउटा प्रक्रिया हो, पार्टीको गन्तव्य कता हो भन्नेसमेत यसले निर्धारण गर्छ,’ नेता न्यौपानेले भने ।नेता न्यौपाने प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नु सही भए पनि अहिलेको अवस्थामा यो ठीक मान्न नसकिने बताउँछन् । ‘निर्वाचनमा जाने हुँदा कार्यकर्ता तथा सहभागीहरूलाई हाम्रो विचार, लाइन, दृष्टिकोणबाट सुसंस्कृत तथा प्रशिक्षित गराउनुपथ्र्यो, अहिले प्रशिक्षित बनिसकेका छैनन्,’ नेता न्यौपानेले भने, ‘जे भए पनि विकृति, विसंगति पैसा र पावरबाट मुक्त गर्न सक्दा ठिकै होला नत्र संसदीय परम्परागत पार्टीभन्दा फरक हुन सकिँदैन ।’

निर्वाचन समिति संयोजकसमेत रहेका माओवादी नेता मल्लले माओवादी संगठनभित्र जे समस्या छ, त्यसको समाधानका लागि प्रतिस्पर्धाको बाटो ठीक हुन्छ कि भनेर निर्वाचन अपनाइएको बताए । ‘व्यक्ति व्यक्तिमा प्रतिस्पर्धा गराउँदा अहिलेको संगठनभित्रको समस्या हल हुन्छ कि भनेर संगठनभित्रको गतिशीलतालाई अन्त्य गर्न निर्वाचनको बाटो रोजिएको हो ।’



प्रतिक्रिया दिनुहोस्