Logo

त्रिविले ईदमा परेको परिक्षा सारेकोमा मुस्लिम समुदाय हर्षित



काठमाडौं, १३ भदौ । मुस्लिम समुदायको महानपर्व ईदउल अज्हा ‘वक्रईद’ कै दिन अर्थात भदौ १७ गतेको लागि तय गरिएको स्नातक तहको परिक्षा त्रिभूवन विश्वविद्यालयले सारेकोमा मुस्लिम विद्यार्थीहरुले खुसी प्रकट गरेका छन ।

रिपोर्टर्स क्लब नेपालमा मंगलबार मुस्लिम विद्यार्थी संघर्ष समितिले पत्रकार सम्मेलन गरेर त्रिविले वक्रईदकै दिनमा राखेको परिक्षालाई अन्ततः भदौ ३१ गते सार्ने निर्णयकोमा त्रिविलाई धन्यवाद दिएको छ ।

राष्ट्रिय मुस्लिम संघर्ष गठवन्धनका प्रवक्ता मुहम्मद शहिद अलीले त्रिविले परिक्षाको मिति सारेकोमा धन्यवाद दिदै भने,‘ हाम्रो आन्दोलनपछि त्रिविले परिक्षा सारेको छ, यो सकारात्मक कुरा हो ।’

उनले परिक्षा सार्दैमा मुस्लिम समूदायले संवैधानिक तवरबाट पाउनुपर्ने अधिकार पाएको नठहरिने भएकोले यसको स्थायी समाधान खोज्नु पर्ने धारणा राख्दै भने,‘यो स्थायी समाधान होइन, म राज्यलाई एउटा प्रश्न गर्न चाहन्छु, हाम्रो समुदायलाई सँधै सडकमा ओर्लिन किन बाध्य पारिन्छ ? गणतान्त्रिक मुलुकमा हामीले हाम्रा संवैधानिक अधिकारलाई व्यबहारत उपभोग गर्नको लागि किन टायर बाल्नुपर्छ ? हामीले चाहेको मुलुक यो होईन ।’

उनले अघि थपे,‘हामी राष्ट्रवादी समुदाय हौँ, हाम्रो मुलुक विश्वको शक्तिशाली देशको रुउपमा उदाएको देख्न चाहन्छौँ, हामी मुलुकको उन्नती र प्रगतीको लागि आफ्नो तर्फबाट कर्तव्यव निर्वाह गर्न तयार छौँ, राष्ट्रका समस्याप्रति हाम्रो गहिरो चिन्ता छ, हाम्रो अधिकारको लागि आगामी दिनहरुमा आन्दोलन गर्न नपरोस, सरकारले दुरगामी नजरले सबै नागरिकलाई समान व्यबहार गरोस्, सबैका अधिकारलाई सुनिश्चित गर्नको लागि स्थायि समधान खोज्न सरकारलाई हाम्रो आग्रह छ ।’

मुस्लिम विद्यार्थी संघर्ष समितिका संयोजक रहिम मुल्ला मियाँले त्रिविले परिक्षा सारेर आफ्नो समुदायको हितमा काम गरेको बताउदै आगामी दिनमा यस्तो गल्ति नदोहोया¥उन आग्रह गरे । निर्वाचन आयोगले रमजानको समयमा दोस्रो चरणको निर्वाचनको मिति घोषणा गरेपछि चौतर्फि बिरोध भएको थियो ।

मुस्लिम समुदायले मिति सार्नको लागि सरकारलाई बाध्य बनाएको थियो । त्यस्तै ईस्लामि संघका महासवि अबुल कलाम मियाँले नेपाली मुस्लिम समुदाय लोकतन्त्रको अनुभूती गर्न नपाएको गुनासो गरे। उनले राज्यले मुस्लिम समुदायका चाँडपर्वहरुलाई अध्ययन गरेर सरकारी काम काजहरु गर्नको लागि पनि आग्रह गरे ।

 



प्रतिक्रिया दिनुहोस्