Logo

प्रधानमन्त्रीको भारत भ्रमण सफल : राज्यमन्त्री विष्ट



भक्तपुर, १३ भदौ । सूचना तथा सञ्चारराज्यमन्त्री तप्तबहादुर विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल रहेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो “भारत भ्रमणका बेला विपक्षी दलका नेताले प्रधानमन्त्री देउवाको जस्तो राजकीय सम्मान नपाएका कारण विरोधका लागि मात्र विरोध गरेको हो ।”

राज्यमन्त्री विष्टले भारत भ्रमणका बेला प्रधानमन्त्री देउवाले नेपालको तर्फबाट स्पष्ट धारणा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीको भ्रमणका विषयमा टिकाटिप्पणी र आलोचना गर्नुमा कुनै तुक नभएको स्पष्ट पार्नुभयो ।

संविधान संशोधनका विषयमा उहाँले संविधान निर्माणकै विषयमा राजनीतिक दलबीच आवश्यकता र मागअनुसार संशोधन गर्न सकिने सहमति भएका कारण यसमा विवाद गर्न जरुरी नदेखिएको बताउँदै उहाँले भन्नुभयो ‘तेस्रो चरणअन्तर्गत प्रदेश नं– २ मा हुने स्थानीय तह निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।”

राज्यमन्त्री विष्टले निर्वाचन शान्तिपूर्ण ढंगले तोकेकै समयमा सम्पन्न हुने बताउँदै “राजपालगायत सबै दलले निर्वाचन आयोगमा दल दर्ता गरिसकेकोले पनि निर्वाचन नहुनेबारे शंका नगर्न सबैमा आग्रह गर्नुभयो ।’

सञ्चारकर्मीद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले श्रमजीवी पत्रकारको समस्या समाधानका लागि सरकार लागि परेको बताउँदै श्रमजीवी पत्रकारका समस्या तत्कालै समाधानका लागि प्रयास भइरहेको छ भन्नुभयो ।

राज्यमन्त्री विष्टले बाढी पीडितका समस्या समाधानका लागि सरकार गम्भीर भएको उल्लेख गर्दै राहतका कार्यक्रमलाई सरकारले प्रभावकारी रुपमा अघि बढाइरहेको छ भन्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्