Logo

प्रधानमन्त्री देउवा अमेरिका जाँदै



काठमाडौं १६ भदौ ।
प्रधानमन्त्री शेरबहादुर देउवा आगामी असोज पहिलो साता अमेरिका जाने भएका छन् । राष्ट्रसंघीय महासभामा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । यो उनको दोस्रो विदेश भ्रमण हुनेछ ।

देउवाले सुरुमा तेस्रो चरणको निर्वाचनका बेला अमेरिका भ्रमणमा नजाने बताएपनि महासभामा उनको सम्बोधनको पालो असोज ५ वा ६ मा आउने भएपछि उनी त्यसतर्फ जाने योजना बनेको हो । परराष्ट्र मन्त्रालयले पनि नेपाल यसपटक अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्मा उम्मेदवार भएकाले जानुपर्ने भन्दै आएको थियो । दुई बर्षदेखि महासभामा नेपालको प्रधानमन्त्रीस्तरमा सहभागिता नभएकाले पनि जानुपर्ने भन्ने सुझाव आएपछि देउवाले भ्रमणको तयारी गर्न निर्देशन दिएको परराष्ट्रका एक अधिकारीले बताए ।

१ सय ९३ मुलुकको उपस्थिति रहने राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यावन्यनलगायतका विषयमा बोल्ने तयारी छ । उनले राष्ट्रसंघको साइडलाइनमा उच्चस्तरीय राजनीतिक भेटघाटसमेत गर्ने कार्यक्रम तय भइरहेको परराष्ट्र अधिकारीले बताए । प्रधानमन्त्री देउवाका सथामा उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा पनि रहनेछन् । महरा न्युयोर्क प्रस्थान गर्नुअघि चीन पुगेर फर्कने छन् । महरा आगामी साता चीन जाने तयारीमा छन् ।

आगामी मन्त्रीपरिषदमा महराको चीन भ्रमण र देउवाको न्युयोर्क भ्रमण टोली तय हुने गरि काम भइरहेको छ । देउवाको भ्रमण टोली तय नभए पनि महराको भने भ्रमण निश्चित हुने परराष्ट्र उच्चअधिकारीले जानकारी दिए । चीनसमेत हेर्ने उत्तरपूर्वी महशाखाले महराको भ्रमणलाई निकै ‘गोप्य’ भ्रमणको संज्ञा दिएको छ । ‘भ्रमण हुन्छ तर तिथि भन्न मिल्दैन,’ महाशाखाका एक अधिकारीले भने । अघिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक अवस्था भन्दै अन्तिम समयमा महासभामा सहभागिता रद्द गरेका थिए । त्यस्तै त्यसअघि सुशील कोइरालाले पनि अन्तिम समयमा तत्कालिन उपप्रधानमन्त्री प्रकाशमान सिंह नेतृत्वमा टोली पठाएका थिए ।

राष्ट्रसंघको ७२ औं महासभामा युद्धकालीन अपराधका बारेमा समेत अनौपचारिक छलफल हुने हुनाले वर्तमान गठबन्धन सरकारलाई सहज भने छैन । राष्ट्रसंघमा यसपटक पनि सधैं झै मानवअधिकार, शरणार्थी मामिला, दिगो विकास लक्ष्य, भूपरिवेष्ठित र अतिकम विकसित मुलुक, शान्ति निर्माण कोष, पुरातात्तिक संरचनाको संरक्षण, क्षेत्रीय शान्ति र क्षेत्रीय संगठनको उपस्थिति लगायत दर्जन बढी विषयमा छलफल हुनेछ । सबैमा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री महराको सहभागिता रहनेछ । विश्व शान्तिसम्वन्धी विविध कार्यक्रममा पनि सहभागिता रहने बताइएको छ । अघिल्ला दुई बर्षको ग्यापलाई नै चिर्नेगरि प्रधानमन्त्री आफै जाने तयारी भएको हो । दीगो विकास लक्ष्य घोषणा गत बर्ष नै भइसकेकाले त्यसको कार्यावन्यन, शान्ति स्थापनार्थ नेपालजस्ता मुलुकले गरेको प्रयास, विश्व शान्तिमा जाने सेनाको संख्या बढाउने, अधिकृतको कोटा बढाउने लगायतका विषयमा छलफल हुने परराष्ट्र अधिकारीले बताए । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्