Logo

डेढ महिनामा २७ आत्महत्या



काठमाडौं १६ भदौ ।
डेढ महिनाको अवधीमा जिल्लामा २७ जनाले आत्महत्या गरेका छन् । २०७४ साउन देखि भदौ १५ सम्ममा दैनिक जसो आत्महत्याका घटना भइरहेका छन् । एकै परिवारका ४ जना, दम्पती र १७ बर्षीय युवतीदेखि ६२ बर्षीया महिलासम्मले आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यलय काभ्रेका डिएसपी महेन्द्र मरासिनीका अनुसार, ४५ दिनभित्रमा १४ जनाले झुण्डिएर र १३ जनाले बिष सेवन गरी आत्महत्या गरेका छन् । २०७४ साउन ६ गते बनेपा पुरानो बसपार्कस्थित गौतम भोजनालयमा एकै परिवारका चार जनाले बिषसेवन गरी आत्महत्या गरेका थिए । साउन ११ गते धुलिखेल ८ बडालगाउँमा ३२ बर्षीय भैरव भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती १८ बर्षीय मनिषा दाहाल रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यलयको तथ्यांकलाई आधार बनाएर तयार पारिएको प्रतिवेदनमा सन् २००७ देखि सन् २०१६ सम्मको अवधीमा ६ सय ९९ जनाले आत्महत्या गरेका छन् । प्रतिवेदन अनुसार, सन् २००७ मा ३६, २००८ मा २०, २००९ मा ५७, २०१० मा ६१ र सन् २०११ मा ५३ जनाले आत्महत्या गरेका छन् । सन् २०१२ मा ८५, २०१३ मा ८४, २०१४ मा ९३, २०१५ मा ९० र सन् २०१६ मा १ सय २० जनाले आत्महत्या गरे ।

अशिक्षा, गरिवी, बेरोजगारी, नैराश्यता आत्महत्याका कारण बनिरहेका छन् । घरेलु हिंसाका कारण पनि आत्महत्या गर्नेहरु बढिरहेका छन् । कम उमेरमा विवाह गरेका कारण बेमेल हुनु पनि आत्महत्याको कारण बनिरहेको छ । आत्महत्या गर्ने अधिकांश २० देखि ४० बर्ष उमेर समुहका छन् । निर्णय लिन नसक्ने, छिटो निर्णय गर्नुपर्ने र अपरिपक्वताका कारण पनि यो उमेर समुहका मानिसले बढी आत्महत्या गर्छन् । पछिल्लो समय काभ्रेमा विषादीको बढ्दो प्रयोग र यसको सहज उपलव्धता पनि आत्महत्याको प्रमुख कारण बनिरहेको छ । किराना पसलदेखि होटेलसम्म सहजै उपलव्ध हुने यस्ता विषादीहरुले अनाहकमा ज्यान गुमाउनेको संख्या पनि बृद्धि भइरहेको छ । जीवनको सार्थकतबारे जानकारी दिन नसक्दा पनि धेरैले जिन्दगीदेखि वैराग्य मानेर आत्महत्या गर्ने गरेको पाइएको छ ।

धुलिखेल अस्पतालको मानसिक रोग विभागमा कार्यरत सहप्राध्यापक डा. अजय रिसालले जैविक, मनोसामाजिक र सामाजिक कारणले मानिसहरुले आत्महत्या गर्ने बताउँछन् । ‘शरिरमा हुने रसायनिक उथलपुथल, मानसिक तथा मनोसामाजिक कारणले मानिसले आत्महत्या गर्छन्,’ रिसालले भने, ‘डिप्रेसन, मध्यपानको लत, आर्थिक क्षति र कसैको मृत्युको खबरले पनि मान्छेले आत्महत्याबारे सोच्छ ।’

पहिला पहिला आत्महत्या वा भवितव्यका कारण मृत्यु भए पिचाश बन्ने र पित्तृ नतर्ने भन्ने धार्मिक तथा सामाजिक मान्यता थियो । त्यही मान्यताका कारण पनि मानिसहरु हत्तपत्त आत्महत्या गरिहाल्न डराउँथे । तर धर्मप्रतिको मानिसको कम विश्वास हुँदै गएबाट यसको संख्यामा समेत बृद्धि हुँदै आएको छ ।

आत्महत्याले बिकराल रुप लिएपछि सरोकारवालाहरु सचेतना अभियान लिएर जाने तयारीमा छन् । जिल्ला प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले जिल्लाका १३ वटै स्थानीय तहमा सचेतना कार्यक्रम लिएर जाने बताए । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्