Logo

झोलामा वडा कार्यालय , एक सचिवको भरमा गाउँपालिका



काठमाडौं १६ भदौ ।
बूढीनन्दा नगरपालिका–७ बाजुराका वडा अध्यक्ष अशोक दानी खल्तीमा जन्मदर्ताका कागज र छाप बोकेर हिँड्छन् । सेवाग्राहीको केही काम परे आपसी समझदारीमा कुनै ठाउँमा बस्छन् र काम गरिदिन्छन् ।

स्थानीय तह निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित भएपछि उनको दैनिकी हो यो । कार्यालय कहाँ छ ? भनी प्रश्न गर्दा सेवाग्राहीकहाँ जाँदै गरेका उनले झोलाभित्रका कागजात देखाउँदै भने, ‘यही हो कार्यालय, काम परेकाले फोन गर्छन्, दौडेर त्यहीँ जान्छु कार्यालय खोल्छु अनि सेवा दिन्छु ।’

वडाध्यक्ष दानी मात्र होइन, जिल्लाका अधिकांश जनप्रतिनिधि कार्यालय अभावमा झोलामा कार्यालय राखेर काम गरिरहेका छन् । बाजुरा जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिकाका गरी ६९ वडा छन् ।

साविकका २७ गाविसलाई अहिले नौ तहमा झारेर ६९ वडामा विभाजन गरिएको छ । कार्यालय नभएका कारण निर्वाचित वडा अध्यक्षहरू सेवाग्राहीलाई सेवा दिन झोलामा कागजपत्र र छाप बोकेर हिँड्नुपरेको छ । जिल्लाका नौ स्थानीय तहमध्ये चारवटै नगरपालिकाका कार्यालय भाडाका घरमा छन् । पाँचवटा गाउँपालिकामा समेत यही समस्या छ । जिल्लाका कुनै पनि वडा कार्यालयसँग भाडामा समेत कार्यालय छैन । स्वामीकार्तिक गाउँपालिकास्थित वाई गाउँका धनकृष्ण जोशी सिफारिस लिन गाउँपालिकाको कार्यालय गए तर कोही कर्मचारी भेटेनन् । उनले भने, ‘चुनावपछि कर्मचारीसमेत भेटिन छाडेका छन् ।’

स्थानीय निर्वाचन सम्पन्न भएको दुई महिना बितिसक्दा समेत बाजुराका स्थानीय तहमा आवश्यक कर्मचारीसमेत छैनन् । स्थानीय तहलाई कामको जिम्मेवारी धेरै भए पनि कार्यकारी अधिकृतसहित अन्य आवश्यक कर्मचारी नहँुदा काम गर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।‘आफैंले बजेट चलाउन नपाएकाले सचिवहरू सरुवा मागेर अन्यत्रै गएपछि नयाँ नआउँदा समस्या भइरहेको छ,’ बूढीनन्दा नगरपालिका–२ कोल्टीका वडाअध्यक्ष भीमबहादुर कार्कीले भने । आवश्यक कर्मचारी नहुँदा कामको चाप बढेको र वडा सचिवले पुरै नगरपालिकाको काम गरिरहेको उनले बताए ।
राजधानीमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्