Logo

प्रदेश-२ मा राहत बाडेर चुनाव भाँड्ने तयारीमा विप्लव



काठमाडौं १७ भदौ ।
निर्वाचन बहिस्कारको अभियान चलाउँदै आएको नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार राजविराजमा बाढी पीडित पाँच परिवारलाई राहत प्रदान गरेको छ।

राहत प्रदान गर्दै जनकपुर व्युरो इन्चार्ज सन्देश पौडेलले आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन दृढतापूर्वक खारेज गर्ने उदघोष गरे। पुरानो राज्य सत्ता नफालेसम्म बाढी आइरहने र विकासका नाममा भ्रष्टाचार मौलाइरहने भन्दै उनले निर्वाचनको नाटक गर्ने बर्तमान राज्यसत्तालाई अस्विकार गर्दै वैकल्पिक राज्य सत्ता स्थापना गर्नु पर्ने बताए।
राजविराज जेसीज भवनमा आयोजित कार्यक्रममा बाढीबाट मृत्यु भएका डोमी यादवकी श्रीमति धना यादव, कमलु सदाका बुवा फुदन सदा, नथुनी रामका छोरा हरेराम राम, रामकुमार सदाका बुवा बेचन सदा र कमल मुखियाकी आमा रामकुमारी मुखियालाई जनही १० हजारका दरले उनले नगद रकम हस्तान्तरण गरे।

नेपाल जनप्रगतिशील मोर्चा बेल्जियम र जर्मनीले पठाएको सहयोग मृतक परिवारलाई प्रदान गरिएको सप्तरीका इन्चार्ज अनकुल राउतले बताए। कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य देवनारायण साह, केन्द्रीय सल्लाहकार रामलखन कहतो, सिरहा इन्चार्ज लक्ष्मण पौडेलले जनसत्ता र जनअदालत निर्माण गर्दै नयाँ राज्यसत्ता स्थापना नहुन्जेल जनताको अधिकार स्थापित नहुने बताए।
वक्ताहरुले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन पार्टीले खारेज गरेकोले जुनसुकै हालतमा चुनाव बिथोल्ने घोषणा गरे।नेपाल जनप्रगतिशील मोर्चा बेल्जियम र जर्मनीले सप्तरीका लागि पठाएको दुई लाखमध्ये बाँकी साढे एक लाख विभिन्न गाविसमा पुगी वास्तविक पीडितलाई प्रत्यक्ष आफ्नै हातले नगद रकम नै हस्तान्तरण गर्ने राउतले बताए।
यसैगरी एक अर्को कार्यक्रममा पतञ्जली योग समिति सप्तरीले मृतक परिवारका बेचन सदा र हरेराम रामलाई जनही दुई हजार पाँच सयका दरले नगद रकम हस्तान्तरण गरेको छ।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्