Logo

भदौ २२ गतेदेखि दसैंको अग्रिम टिकट बुकिङ: २० किलो मात्रै सामान बोक्न पाइने



काठमाडौं १७ भदौ ।
दसैंमा घर जाने यात्रुका लागि सरकारले भदौं २२ गतेदेखि लामो र मध्यम दूरीमा चल्ने सवारी साधनको अग्रिम टिकट बुकिङ सुविधा खुल्ला गर्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात व्यवस्था विभाग महानगरीय ट्राफिक प्रहरी परिसर र उपभोक्तावादीबीच शुक्रबार भएको छलफलमा केही सर्तहरु राखेर भदौं २० गतेदेखि अग्रिम टिकट काट्ने सुविधा खुल्ला गरिएको हो ।

महासंघका कार्यवाहक अध्यक्ष डोलराज खनालका अनुसार केही शर्त राखेर भदौं २२ गतेदेखि अग्रिम बुकिङ खुल्ला गर्ने बिषयमा मौखिक सहमति भएको छ । ‘यात्रुहरुलाई सुरक्षित रुपमा घर पठाउने बिषयमा केही अति आवश्यक व्यवस्था पुरा नभएकाले हामीले लिखित सहमति जनाएका छैंनौं,’ कार्यवाहक अध्यक्ष खनालले भने,‘आवश्यक व्यवस्था कार्यान्वयनमा आयो भने लिखित सहमति गर्छौ ।’
यातायात व्यवसायीले लामो दूरी र मध्यम दूरीमा यात्रा गर्दा बोक्ने सामान कहाँ राख्ने बिषयमा लामो छलफल भएको थियो । गत बर्षको कात्तिकमा मन्त्रिपरिषदको बैठकले लामो दुरी र मध्यम दुरीमा सञ्चालन हुने सवारी साधनको छतमा यात्रुले यात्रा गरेका कारण दुर्घटना निम्तिएको भन्दै सवारी साधनको छतमा यात्रु बोक्न र यात्रुको सामानसमेत बोक्न निषेध गरेको थियो ।
सोही निषेधका कारण दसैंमा सर्वसाधारण घर जाँदा यात्रुसँगै हुने सामाग्री कसरी व्यवस्थापन गर्ने बिषयमा लामो बहस भएको थियो । त्यही बहसका कारण व्यवसायीले तत्काल अग्रिम बुकिङ सुविधा नखोल्ने अडान राखेका थिए ।
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने, ‘यात्रुको सामान कसरी गन्तव्यसम्म लाने भन्ने बिषयमा व्यवहारिक कठिनाइ देखियो । त्यो समस्यालाई समाधान गर्न हामीले सकेसम्म मन्त्रालयमा पहल गर्ने बचनबद्धता जनाएपछि व्यवसायीले मौखिक रुपमा २२ गतेदेखि बुकिङ खोल्ने सहमति जनाउनुभयो ।’
छतमा यात्रुको सामान राख्ने बिषयमा सहमति भएपनि सामान बाहेक यात्रु र व्यपारिक प्रयोजनको सामाग्री राख्न नपाइने बिषयमा सहमति भएको थियो। यात्रुको सामान बाहेक यात्रु र व्यपारिक प्रयोजनको सामाग्री राखिएको पाइएमा तत्कालै त्यस्ता सवारी साधनको रुट परमिट खारेज गर्ने बिषयमा सहमति भएको छ।
यस्तै दसैंमा यात्रुले यात्रा गर्दा अधिकतम २० किलोको सामान मात्र लान पाउने बिषयमा सहमति भएको छ। वैदेशिक रोजगारबाट फर्कनेसँग कम्तिमा ६० किलोग्रामसम्मको सामान हुन्छ। त्यो बिषयमा भने राज्य मौन छ।
बैठकमा यात्रुको सुरक्षाको लागि जीर्ण अवस्थामा रहेका सडक खण्डलाई तत्कालै मर्मत सम्भार गरिने, तोकिएकै भाडा दर कायम हुने‐तर सडकखण्ड बिग्रेर अर्को सडकखण्ड प्रयोग गरी सवारी साधन गन्त्व्य स्थलमा लागे किलोमिटरको हिसाबमा सरकारले निर्धारण गरेको प्रचलित भाडा दर थप हुन सक्छ), दसैंमा गुड्ने सवारी साधनलाई अञ्चलस्थित यातायात व्यवस्था विभागबाट जाँच पास सुविधा उपलब्ध गराउने बिषयमा पनि सहमति भएको छ।
यो बर्ष दसैंमा उपत्यकाबाट २५ लाख सर्वसाधारणसहित वैदेशिक रोगजारबाट फर्कने करिब तीन लाख र कोरिया भाषासम्बन्धी परीक्षा दिन आउने ४५ हजार सर्वसाधारण बाहिरिने अनुमान गरिएको छ।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्