Logo

वीरगञ्‍ज महानगरका मेयर उम्मेदवार



काठमाडौं १८ भदौ ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि सबै दलको ध्यान केन्द्रित भएको प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको मेयर पदमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बाहेक अन्य प्रमुख दललले उम्मेदवारको टुंगो लगाइसकेका छन्। वीरगन्ज महानगरको मेयरमा नेपाली कांग्रेसले जिल्ला सभापति अजय द्विवेदी, संघीय समाजवादी फोरम नेपालले पार्टीका मधेस प्रदेश कोषाध्यक्ष एंव विजय सरावगी, एमालेले नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारी र नेकपा (माओवादी केन्द्र)ले गण्डक हस्पिटलका संचालक रहबर अन्सारीलाई उम्मेदवार बनाएको छ। राजपामा भने मेयरको उम्मेदवारको अझै टुंगो लाग्न सकेको छैन। पूर्वमेयर समेत रहेका विमल श्रीवास्तव र पार्टीका केन्द्रीय महासचिव राजेशमान सिंहबीच रस्साकस्सी हुँदा राजपाले निर्णय गर्न नसकेको हो।

कांग्रेसः अजय द्विवेदी
कांग्रेसका जिल्ला सभापति द्विवेदी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा वीरगन्जको उपमेयरमा निर्वाचित भएका थिए। पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी दोश्रो संविधानसभाको निर्वाचनमा भने त्यही क्षेत्रबाट पराजित भएका थिए। नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका द्विवेदी पार्टी सभपति शेरबहादुर देउवा निकट मानिन्छन्। कांग्रेस नेता बिमलेन्द्र निधिको सामीप्यमा रहेका द्विवेदीलाई मेयरमा उम्मेदवार बनाउने कांग्रेस नेतृत्वको निर्णयमा जिल्लामा रहेका प्राय सबै नेता एकमत देखिएका छन्। जसका कारण यसभन्दा पहिले भएका निर्वाचनमा नेताहरुबीच अनेकन गुट र उपगुट देखिएको भए पनि आसन्न स्थानीय तहको निर्वाचनमा भने वीरगन्ज महानगरको सन्दर्भमा सबै नेताहरु द्विवेदीको पक्षमा खुलेर लागेका छन्।
कांग्रेसले वीरगन्जको उपमेयरमा महाधिवेशन प्रतिनिधी एंव पुरानी नेतृ शान्ति कार्कीलाई उम्मेदवार बनाउने आन्तरिक रुपमा निर्णय भइसकेको भए पनि शुक्रबार साँझसम्म उक्त निर्णय औपचारिक रुपमा सार्वजनिक भएको छैन।
फोरम नेपालः विजय सरावगी
वीरगन्ज महानगरको मेयरमा फोरम नेपालले समाजसेवी एंव उद्योगपति विजय सरावगीलाई उम्मेदवार बनाएको छ। वीरगन्ज उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघको दुई पटक कार्यकारणी सदस्य समेत रहिसकेका सरावगी फोरम नेपालको मधेस प्रदेश कोषाध्यक्ष पनि हुन्। वीरगन्ज महानगरका शिक्षा, स्वास्थ्य, धार्मिकलगायतका क्षेत्रका भौतिक संरचना निर्माणमा आर्थिक सहयोग गरेका कारण सरावगी वीरगन्जमा समाजसेवीका रुपमा पनि परिचत छन्।

सरावगी ग्रुप अफ इण्डस्ट्रिजका अध्यक्ष समेत रहेका सरावगी गत चैत ६ गते फोरम नेपालमा प्रवेश गरेसंगै पार्टीले वीरगन्जको मेयरमा उनलाई नै उम्मेदवार बनाउने चर्चा चलेको थियो। वीरगन्जमा माडवारी समुदाय र उद्योगी व्यपारीको बाक्लो बसोबास रहेका कारण आसन्न निर्वाचनमा अन्य दलको उम्मेदवार भन्दा सरवागीलाई माडवारी समुदाय र उद्योगी व्यपारीको समर्थन बढी रहने आकलन गरिको छ। फोरम नेपालले वीरगन्ज महानगरको उपमेयरमा पिंकी यादवलाइ चुनावी मैदानमा उतारेको छ। शिक्षण पेशमा संलग्न रहेकी यादव पार्टीले उम्मेदवार बनाउने निर्णय भएपछि शिक्षण पेशाबाट राजीनामा दिएर चुनावी मैदानमा आएका हुन्।
एमालेः बसरुद्धिन अन्सारी
वीरगन्जको नेशनल मेकिडल कलेजका प्रबन्ध निर्देशक रहेका बसरुद्धिन अन्सारीलाईा एमालेले वीरगन्ज महानगरको मेयरमा उम्मेदवार बनाउदै चुनावी मैदानमा उतारेको छ। दोश्रो संविधानसभाको निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट तत्कालीन एकीकृत नेकपा माओवादीका तर्फबाट चुनाव लडेर पराजित भएका अन्सारी आसन्न स्थानीय तहको निर्वाचनमा वीरगन्जको मेयर पदको टिकट पाउने आश्वासनमै गत जेठमा माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोख्रेलसंगै सिधै टिकटको लागि बार्गेनिङ गरेर एमालेमा प्रवेश गरेका अन्सारीलाई नै अन्तत पार्टीले मेयरको टिकट दिएको हो। जेलनेल भोगेका नेता कार्यकर्तालाई पाखा लगाएर नव प्रवेशी अन्सारीलाई मेयरको टिकट दिएपछि पार्टीका सक्रिय नेता कार्यकर्ता असन्तुष्ट छन्। मधेसमा एमालेलाई मधेस विरोधी दल भनेर गरिएको प्रचारका कारण जनाधार कम आकलन गरिएको वीरगन्जमा पार्टीले अन्सारीलाई चुनावी मैदानमा उतारे पछि भने अन्सारीकै कारण वीरगन्जमा एमालेको चर्चा तुलनात्मक रुपमा बढेको छ। वीरगन्जको उपमेयरमा भने एमालेले सोफिया आचार्यलाइ उम्मेदवार बनाएको छ। आचार्य, एमालेका स्थानीय नेता चिरन्जीवी आचार्यकी पत्नी हुन्।
माओवादीः रहबर अन्सारी
नेकपा (माओवादी केन्द्र)ले भने वीरगन्जको मेयरमा युवा उम्मेदवार रहबर अन्सारीलाई चुनावी मैदानमा उतारेको छ। मेयरका लागि अहिलेसम्म अगाडि सारिएका अन्य दलका उम्मेदवार मध्ये रहबर सबै भन्दा कान्छो उम्मेदवार देखिएका छन्। युवाहरु माझ लोकप्रिय छवि बनाउन सफल ३१ वर्षीय रहबर नेकपा माओवादी केन्द्रको जिल्ला सदस्य र माओवादी केन्द्र निकट मुस्लिम मुक्ति मोर्चाको केन्द्रीय सदस्य पनि हुन्। हङगेरीको सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा स्नाकोत्तर अध्ययन सकाएर स्वदेश फर्किएका रहबर वीरगन्जको गण्डक चोकमा रहेको गण्डक अस्पतालका सन्चालक पनि हुन्। रहबरले आफूलाई मेयरको उम्मेदवार बताउदै चुनावी घरदैलो सुरु गरिसकेका छन्। यद्यपी जिल्ला स्तरका नेताहरु भने पार्टीले अझैसम्म उम्मेदवारको आधिकारीक टुंगो लगाएको छैन। माओवादी केन्द्रकी नेतृ एंव पूर्वमन्त्री उर्मिला अर्यालकै प्रस्तावमा पार्टी नेतृत्वले रहबरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको जिकिर एक पक्षको छ भने माओवादी केन्द्र पर्सा जिल्लाका पूर्व अध्यक्ष बाबुराम कौशीकले भने पार्टीले वीरगन्जको मेयरका उम्मेदवारका बारेमा अहिले सम्म निर्णय नै नगरेको बताए। यस्तै माओवादीले केन्द्रले उपमेयरको पनि अहिलेसम्म टुंगो लगाएको छैन।
आन्तरिक झगडामा राजपा
चुनावमा भाग लिने निर्णय गरेसँगै वीरगन्जको मेयर पदको उम्मेदवारका लागि राजपामा विमल श्रीवास्तव र राजेशमान सिंहबी प्रतिस्पर्धा चलिरहेको छ। राजपबाट वीरगन्जको मेयरका लागि पूर्व मेयर समेत रहेका श्रीवास्तव र केन्द्रीय महासचिव सिंह दुवैले अडान लिइरहेका कारण पार्टी नेतृत्वलाई उम्मेदवारको टुंगो लगाउन सकस भएको छ। राजपा गठन गर्नु अघि श्रीवास्तव, तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का केन्द्रीय कोषाध्यक्ष एंव केन्द्रीय प्रवक्ता थिए। मेयरका अर्का मुख्य आकांक्षी सिंह भने सरदसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा)का केन्द्रीय महामन्त्री थिए।

दोश्रो संविधान सभाको निर्वाचनमा श्रीवास्तव तत्कालीन तमलोपाबाट र सिंह तत्कालीन रामसपाबाट पर्सा क्षेत्र नम्बर १ मै प्रत्यक्षमा लडेका थिए। उक्त निर्वाचनमा श्रीवास्तव दोश्रो र सिंह तेश्रो स्थानमा रहदै पारजित भएका थिए। दोश्रो संविधानसभाको निर्वाचन भन्दा पहिले सिंह तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेका श्रीवास्तवकै राजनीतिक सहयोगीका रुपमा थिए।
दोश्रो संविधानसभा निर्वाचनका बेला श्रीवास्तव तत्कालीन तमलोपमा प्रवेश गरेपछि सिंह पनि उनलाई छाडेर तत्कालीन रामसपामा लागेका थिए। पार्टीले आसन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको भोलि पल्टै गत शुक्रबार वीरगन्जमा मेयरको उम्मेदवारको विषयमा विवाद हुँदा श्रीवास्तव र सिंहका समर्थक कार्यकर्ताबीच सामान्य झडप पनि भएको थियो। आसन्न असोज २ को स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरको मेयरका लागि राजपाबाट दुई मध्ये टिकट नपाउने नेताले अरु दलबाट वा स्वतन्त्र रुपमै भएपनि चुनाव लड्ने सम्भावना छ। अन्नपूर्णपोष्टमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्