Logo

संसार हल्लायो उत्तर कोरियाले



काठमाडौं १९ भदौ ।

राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको निरन्तर आग्रहलाई बेवास्ता गर्दै उत्तर कोरियाले आइतबार शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेको छ । उत्तरपूर्वी किल्जु काउन्टी क्षेत्रको पुङ्गे–री आणविक केन्द्रमा बम परीक्षण गरिएको हो । हालसम्मकै शक्तिशाली मानिएको हाइड्रोजन बम परीक्षणपछि कोरियाली प्रायद्वीपमा ६.३ रेक्टर स्केलको कम्पन महसुस गरिएको थियो ।  उत्तर कोरियाको यो परीक्षणले विश्वभर ‘त्रास’ सिर्जना गरेको भन्दै भत्र्सना भएको छ ।

उक्त संस्थाले आइतबार बिहान किम जोङ–उनले हाइड्रोजन बमको निरीक्षण गरेको भन्दै तस्बिरहरू सार्वजनिक गरेको थियो । दक्षिण कोरियाली विज्ञहरूले उक्त बम यसअघिका भन्दा करिब दस गुणा शक्तिशाली रहेको उल्लेख गर्दै हाइड्रोजन बम नै परीक्षण गरिएको दाबी गरेका छन् । गतसाता उत्तरले प्रहार गरेको क्षेप्यास्त्र जापानको हकाइडो प्रान्तको आकाश हुँदै समुद्रमा खसेको थियो । राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय समुदायले आणविक परीक्षण नगर्न उत्तर कोरियालाई निरन्तर आग्रह गर्दै आइरहेका छन् ।

उत्तर कोरियाले परीक्षण गरेको हाइड्रोजन बमले अन्य बमको तुलनामा कैयौं गुणा बढी क्षति पुर्‍याउने विज्ञहरूले बताएका छन् । उनीहरूका अनुसार कुनै पनि हाइड्रोजन बम क्षेप्यास्त्रमा राखेर प्रहार गर्न सक्ने आकारको बनाउनु एकदमै चुनौतीपूर्ण हो । विज्ञहरूले प्योङयाङको विकसित प्रविधि भने ठीक भएको बताए । परीक्षण गरिएको हाइड्रोजन बम करिब १ सय किलो टन क्षमताको भएको विज्ञहरूको अनुमान छ, जुन अमेरिकाले दोस्रो विश्वयुद्धताका जापानको नागासाकीमा खसालेको ‘फ्याट ब्वाई’ भन्दा पाँच गुणा शक्तिशाली बताइएको छ । सन् १९४५ को अगस्ट ६ मा अमेरिकाले खसालेको ‘फ्याट ब्वाई’ का कारण ४५ हजार मानिसको तत्काल मृत्यु भएको थियो । उक्त युरेनियम बम १३ किलोटन शक्ति उत्पन्न गर्दै विस्फोट भएको थियो । अमेरिकी ऊर्जा मन्त्रालयले बमका कारण लागेको आगो, उत्पन्न विकिरण तथा क्यान्सरले २ लाख मानिसको ज्यान गएको जनाएको थियो । हिरोसिमाका अधिकारीले भने कम्तीमा २ लाख ३७ हजार मारिएको दाबी गरेका थिए ।

बम परीक्षणको विश्वका प्रमुख देश तथा सरकार प्रमुखले निन्दा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत उत्तर कोरियाका अभिव्यक्ति र क्रियाकलाप अमेरिका र सम्पूर्ण विश्वलाई नै खतरा भएको प्रतिक्रिया दिए । उनले पछिल्लो परीक्षण ‘चीनका लागि लाजमर्दो अवस्था’ भएको बताए । उत्तर कोरिया ‘दुष्टहरूको जमात’ भएको बताउँदै ट्रम्पले ‘भविष्यमा चीनका लागि खतरा’ हुने उल्लेख गरे ।

उत्तर कोरियाले राष्ट्रसंघद्वारा पारित प्रस्तावहरू मान्नुपर्ने र परमाणु कार्यक्रम रोक्नुपर्ने चीनले टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उत्तर कोरियाले बढदो चासो र चिन्ताका बीच फेरि परमाणु बम परीक्षण गरेको छ । यस्तो कदमको चीन दृढतापूर्वक विरोध र निन्दा गर्छ ।’

कम्पन महसुस भएलगत्तै दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन बैठक डाकेका थिए । उनले उत्तर कोरियालाई परीक्षणविरुद्ध ‘संसारबाटै एक्ल्याउन’ राष्ट्रसंघमार्फत थप प्रतिबन्धसहित कडाभन्दा कडा प्रतिक्रिया जनाउनुपर्ने बताए ।

जापानी प्रधानमन्त्री सिन्जो अबेले उत्तर कोरियाली क्रियाकलाप जापानका लागि ‘पूर्णतया अस्वीकार्य’ भएको प्रतिक्रिया दिएका छन् ।

आइतबार अबेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यस्ता क्रियाकलापले समाधानभन्दा हतियारको होडबाजी हुने निश्चित छ ।’ उनले उत्तर कोरियाली गतिविधिले राष्ट्रिय सुरक्षा तथा पूर्वी एसियाली क्षेत्रको शान्ति कमजोर पारेको बताए । भारतले परमाणु बम परीक्षणबाट ‘खतराको घन्टी बजेको’ जनाएको छ । ‘उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबद्धताको उल्लंघन गरेकोमा भारत सरकार चिन्तित भएको छ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्