Logo

आज इन्द्रजात्रा मनाइँदै



काठमाडौं २० भदौ । भाद्र शुक्ल चतुर्दशीका दिन मङ्गलबार जैसिदेवलतर्फ पहिलो रथयात्रा गरेर इन्द्रजात्रा मनाइँदैछ । सोमबार हनुमानढोका दरबारमा ३२ हाते लिङ्गो ठड्याएपछि यो जात्रा सुरु भएको हो । सोमबार यसै सिलसिलामा काठमाडौँको प्राचीन मध्य शहरका सबै देवतामा मृतक आफन्तको स्मृति गर्दै द्वीपदान गरियो ।

हलचोकको भैरव, मजिपाटको लाखे, किलागलको पुलुकीसी, भक्तपुरको महाकाली नाच, किलागलको देवीनाच जात्राका सिलसिलामा श्रीकुमारी घरमा हाजिर भए । यी देवताले यसै दिन शहरमा नाच प्रस्तुत गरे । मङ्गलबार राष्ट्रप्रमुख लगायत सरकारका उच्चपदस्थ अधिकारी तथा आमन्त्रित कूटनीतिक नियोग प्रमुखसमक्ष पनि नाच प्रस्तुत गरिँदैछ ।

स्थानीय निरन श्रेष्ठको अगुवाइमा सिन्ह स्वाँ खलः, दिगम्बर श्रेष्ठको अगुवाइमा श्रीकुमारी क्लब, राजन महर्जनको अगुवाइमा मखन महादेव क्लब, गौतमरत्न शाक्यको अगुवाइमा जात्रा व्यवस्थापन समिति, नाइके दुर्गाबहादुर डङ्गोलको अगुवाइमा महाने समुदाय, जैसिदेवल युवा क्लब, तारणी युवा क्लबका युवाले मङ्गलबार रथलाई जैसिदेवल हुँदै लगन पु¥याउने छन् ।
यसैक्रममा बुधबार रथलाई नरदेवीतर्फ लगिँदैछ । रथ तान्न बल आओस् भनेर श्रीकुमारी घरका महाने धनभाजु महर्जनको तर्फबाट ५० धार्नी राँगाको मासु र प्रशस्त जाँडसहितको भोज आयोजना गरिएको छ ।

राजा जयप्रकाश मल्लको राज्यसत्ता लम्बिएको खुशियालीमा गरिएको यो रथयात्राका दिन पृथ्वीनारायण शाहले काठमाडौँमाथि आक्रमण गरेर नेपाल एकीकरण गरेका थिए । शाहवंशीय राजाहरूले पनि यो जात्रालाई निरन्तरता दिएको भए पनि वर्तमान अवस्थामा यो जात्राले राजा वा शासकको जात्रा नभई आम नागरिकको जात्राको रूप धारण गरेको छ । जात्राको यत्रतत्र उल्लास छ ।



प्रतिक्रिया दिनुहोस्