Logo

कालिकोटका रघुचन ३ महिनादेखि मलेसियामा अचेत, उद्धारको पहल भएन



कालिकोट, २० भदौ । विगत ३ महिनादेखि मलेसियाको अस्पताल ल्याङकावाईमा अचेत अवस्थामा रहेका नरहरिनाथ गाउँपालिका–९ कालिकोटका रघुचन उपाध्यायको उद्धारको कुनै पहल भएको छैन ।

२ वर्ष अघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका उपाध्यायलाई कारले ठक्कर दिएर घाइते भएका थिए । बेहोस भएका उपाध्यायको आजसम्म होस खुलेको छैन ।

गत जुन २२ तारिख राती मलेसियाको लङकावईस्थित एक निर्माण कम्पनीमा कामगर्ने क्रममा विपरीत दिशाबाट आएको कारले ठक्कर दिँदा गम्भीर घाइते भएको निजका दाजु रत्नप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

रत्नप्रसादले भने,‘कारले ठक्कर दिएपछि गम्भीर घाइते भएर साथीहरुको सहयोगमा अस्पताल लगिएको भन्ने सुनेका थियौं।’ उनले अघि थपे‘अस्पताल लगेदेखि अहिलेसम्म निरन्तर आइसियुमा उपचाररत अहिलेसम्म खासै स्वास्थ्यमा सुधार नआएको खबर पाएका छौं।’

दुई वर्षअघि काठमाडौंस्थित पङ्गेनी ह्युमन रिसोर्स म्यानपावरबाट मलेसियास्थित एसपी रिसोर्स एसडिएन बिएचडी कम्पनीमा रोजगारीका लागि गएका उपाध्यायलाई नेपाल ल्याउन पहल चालेको तर, पैसाको अभावका कारण नेपाल ल्याउन कठिन भएको उनका दाजु रत्नप्रसाद उपाध्यायले बताए।

उनले भने,‘हामीसँग उसलाई नेपाल ल्याउने पैसा छैनै, मलेसिया पठाउने म्यानपावर र काम गर्ने कम्पनीलाई नेपाल ल्याउन आग्रह गरेका थियौं, तर, नेपाल ल्याइदिएनन्।’

नेपाल ल्याउनका लागि उपाध्यायको अवस्थाबारे नेपाली दूतावास मलेसियामा लिखित जानकारी दिएको तर, कुनै पहल नचालेको उपाध्यायका दाजु रत्नप्रसादले बताए। उपाध्यायका ३ छोरी १ छोरा र श्रीमती छन्।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot