Logo

सांसदकाे चरम बेवास्ता, गणपुरक संख्या नपुगेपछि व्यवस्थापिका–संसद् बैठक फेरि स्थगित



काठमाडौं २४ भदौ ।
थारू र मुस्लिम आयोग विधेयक पारित हुन सकेन
दोस्रो बैठकबाट मधेसी आयोग विधेयक पारित
फेरि गणपुरक संख्या नपुग्दा १५ मिनेटका लागि स्थगित बैठक सूचना टाँसेर ११ दिनपछि बोलाइयो

संसद्मा गणपुरक संख्या नपुग्दा संवैधानिक आयोगसम्बन्धी दुई विधयेक पास हुन सकेन । कायम रहेका ५ सय ९१ सांसदमध्ये एक चौथाइ सांसदसमेत उपस्थित नभएपछि शुक्रबार दुईपटक बसेको संसद् बैठकले थारू आयोग विधेयक र मुस्लिम आयोग विधेयक पारित गर्न सकेन ।

दोस्रो बैठकले मधेसी आयोग विधेयक पारित गरे पनि थारू र मुस्लिम आयोगसम्बन्धी विधेयक पारित गर्न गणपुरक संख्या पुगेन । संविधानअनुसार संसद्मा कुनै पनि प्रस्ताव पेस गर्न कायम सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित हुनुपर्छ । तर, शुक्रबारको पहिलो बैठकमा मधेसी आयोग विधेयकमाथि छलफल प्रारम्भ गर्ने क्रममा १ सय ३६ सांसद मात्र उपस्थित थिए ।

 

नेमकिपाका सांसद प्रेम सुवालले गणपुरक संख्याबारे ध्यानाकर्षण गरेपछि उपस्थिति गणना गरिएको थियो । संख्या नपुगेपछि बैठक १५ मिनेट स्थगित भएको थियो । पुनः बसेको बैठकमा भने १ सय ५७ सांसद उपस्थित भए । त्यसपछि संसद्को कारबाही अगाडि बढ्यो ।

तर, मधेसी आयोग विधेयक पारित गरिसकेपछि थारू आयोग विधेयक पास गर्ने क्रममा पुनः सांसद सुवालले गणपुरक संख्या एकीन गर्न माग गरे । संसद् बैठक अघि बढ्न कम्तीमा १ सय ४८ सांसद हुनुपर्नेमा १ सय २७ सांसद मात्र उपस्थित थिए ।

बैठक पुनः १५ मिनेट स्थगित भयो । तर, शुक्रबार तेस्रो बैठक बसेन । संसद् सचिवालयले सूचना टाँसेर ३ असोजसम्म बैठक स्थगित भएको जनाएको छ ।
नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्