Logo

मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने



काठमाडौं २५ भदौ । बढी भाडा लिन पाउने र हुटमा यात्रु राख्न पाउने आफ्नो माग सरकारले पूरा गर्ने भएपछि यातायात व्यवसायीले मंगलबारदेखि दशैंको लागि टिकट बुकिङ खुला गर्ने भएका छन् ।

दसैंका लागि यात्रुहरू राजधानीबाट घर फर्कन नपाएमा ठूलो विरोध हुनसक्ने त्रासमा रहेको सरकारलाई यातायात भाडा बढाउने र बस, मिनीबस र माइक्रोमा हुट राख्न पाउनुपर्ने मागमा सहमति गर्न बाध्य पारेपछिमात्र यातायात व्यवसायीहरू अग्रिम टिकट बुकिङ खोल्न तयार भएको जानकारी स्रोतले दिएका छन् ।

महासंघले यातायात भाडा वृद्धि र बस, मिनीबस र माइक्रोमा हुट र छत राख्न नपाएसम्म दसैंका लागि अग्रिम बुकिङ खुला नगर्नेलगायतका माग राख्दै आएका थिए । यातायात विभागले भदौ २२ देखि नै अग्रिम टिकट बुकिङ खोल्न व्यवसायीलाई आग्रह गर्दै आएको थियो ।

व्यवसायीले नमानेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात विभागका अधिकारी र राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारीबीच शनिबार वार्ता भएको हो । वार्ताको सुरुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरसमेत सहभागी थिए ।

वार्तामा महासंघसित ‘भाडा समायोजन गर्ने र मालसामानमात्र राख्ने प्रयोजनका लागि हुट राख्ने कानुनी व्यवस्था गर्न मन्त्रालयमार्फत् मन्त्रिपरिषदमा प्रस्ताव लान सहजीकरण गर्ने’ सहमति भएको जानकारी विभागका उपसचिव टोकराज पाण्डेले जानकारी दिए ।

सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा बस, मिनिबस र माइक्रोमा हुट र छत राख्न नपाइने र राखेमा यातायात इजाजतपत्र छ महिनाका लागि निलम्बन र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यातायात व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागका अधिकारीलाई यही व्यवस्था संशोधन गरी ‘आवश्यक मालसामान राख्ने नाउँमा हुट र छत राख्ने कानुनी व्यवस्था गरिदिन’ बाध्य पारेको स्रोतले उल्लेख गरेको छ ।

आवश्यक मालसामान राख्ने नाममा हुट तथा छत राख्ने र त्यसमा दसैंतिहारजस्ता समयमा टनाटन यात्रु चढाउने र नाजायज कमाइ गर्ने दाउ यातायात व्यवसायीहरूको छ । यही कारण दसैंको मुखमा अग्रिम बुकिङ खुलाउन ढिलो गरेर उनीहरूले सरकारलाई यो मागमा घुडा टेकाएका हुन् । महासंघका अध्यक्ष डोलनाथ खनालले मालसामानमात्र राख्ने प्रयोजनका लागि हुट राख्न दिनुपर्ने र वैज्ञानिक भाडा समायोजन हुनुपर्ने आफूहरूको पहिल्यैदेखिको माग रहेको उल्लेख गर्दै त्यसमा सहमति भएको जानकारी दिए । ‘पहिलाको जस्तै हुट र छतमा खचाखच यात्रु राख्न पाउनुपर्ने मागसमेत सरकारलाई चेपुवामा पारेर पूरा गराएरै छाड्नुभयो नि ?’ भन्ने जिज्ञासामा उनले भने– ‘कान्तिपुरजस्तो मिडियाले सत्यतथ्य बुझेरमात्र लेखोस् ।’

विभागका उपसचिव पाण्डेले भने मालसामान राख्नका लागिमात्र हुट राख्न दिइने र यात्रु चढाएमा कारबाही गर्ने कानुनी व्यवस्था गरिने दाबी गरे । उनले यातायात व्यवसायीको मागबमोजिम भाडा समायोजन गरिने, तर दसैं, तिहार र छठपछिमात्र भाडा वृद्धिको प्रक्रिया अघि बढ्ने जानकारी दिए । ‘दसैं, तिहार र छठसम्म यात्रु भाडा बढैन । त्यसपछि विभागले भाडा समायोजनको प्रक्रिया अघि बढाउँछ’ उनले भने । उनका अनुसार वैज्ञानिक भाडा समायोजनमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई ३५ प्रतिशत भार, गाडी, मर्मत, पार्टपुर्जालगायतको मूल्यलाई ६५ प्रतिशत भार राखी भाडा तय गरिन्छ ।

उपसचिव पाण्डेले पहिरो आउनासाथ बाटो खुलाउन नागढुंगा र मुग्लिनमा डोजर राख्ने, सडक स्तरोन्नति गर्ने तथा १४ वटै अञ्चलमा सवारी जाँचपास गर्ने कार्यालय खोल्नेलगायतका व्यवसायीका माग पूरा गर्न मन्त्रालय र विभागले आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।

पाण्डेले सहमतिअनुसार मंगलबारदेखि नयाँ बसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकीलगायतका स्थानबाट बस, मिनिबस र माइक्रोको अग्रिम टिकट बुकिङ खुल्ने जानकारी दिए । उनले दशैंमा यात्रुलाई सुरक्षित र सहज तवरले घर पुर्‍याउन सरकार प्रतिबद्ध रहेको र त्यसमा यातायात व्यवसायीले सहयोग गर्ने वातावरण बनेको बताए । काठमाडौं उपत्यकाबाट बाहिरी जिल्लाका सर्वसाधारण दशैं मान्न झन्डै २० देखि २५ लाखको संख्यामा बाहिरिने अनुमान छ ।



प्रतिक्रिया दिनुहोस्