Logo

त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ कांग्रेसका अन्तर्घाती अरु को-को ?



काठमाडौं २८ भदौ । स्थानीय तह निर्वाचनमा आफ्नै उम्मेदवारविरुद्ध घात गर्ने कांग्रेसी कार्यकर्ताको सूचीमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ पनि परेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका खनियाँले चितवनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको उजुरी परेको थियो ।

कांग्रेसको अनुशासन समितिले प्रारम्भिक अनुसन्धानपछि डा. खनियाँसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।आजको नयाँ पत्रिकामा यो खबर छ ।

रमेश रिजाल नेतृत्वको अनुशासन समितिले प्राप्त उजुरीमाथि छानबिन गर्दै अन्तर्घात आरोपीलाई स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाएको हो ।

प्रदेश नम्बर १, ३, ४, ५, ६ र ७ का स्थानीय निर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेका दुई सय ५० जनामाथि समितिले छानबिन प्रक्रिया अघि बढाएको छ । अरू धेरैजसो नेता तथा कार्यकर्ता पेसेवर राजनीतिकर्मी भए पनि खनियाँ देशको सबैभन्दा ठूलो विश्वविद्यालयका नेतृत्वदायी प्राज्ञ हुन् । तर, उनीसमेत राजनीतिक कार्यकर्ता बनेका छन् र अझ पार्टीको अनुशासन नमानेको भनेर कठघरामा परेका छन् ।

स्पष्टीकरण प्राप्त भएपछि अनुशासन समितिले थप अनुसन्धान गरेर दोषी रहेको भए कारबाहीको प्रक्रिया अघि बढाउनेछ । ‘पार्टीका उम्मेदवारहरूलाई हराउन सक्रिय रहेको भनी परेका उजुरीहरूमाथि छानबिन अघि बढाएका हौँ, आधिकारिक उम्मेदवारलाई हराउन सप्रमाण भेटिएपछि अनुशासन कारबाही हुन्छ,’ समिति सदस्य सुरेन्द्र पाण्डेले नयाँ पत्रिकासँग भने, ‘प्रमाण पुगेमा निलम्बन र निष्कासनसम्मका कारबाहीको प्रक्रिया अघि बढाउँछौँ ।’

समिति बैठकले समितिको सचिव पदमा कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजाललाई नियुक्त गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्