Logo

आचारसंहितालाई पालना गर्नु सबैको कर्तव्य हो: नेता केसी



विराटनगर, ३० भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आचारसंहितालाई पालना गर्नु दललगायत सबैको कर्तव्य भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले राज्यका सम्पूर्ण संयन्त्रले निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने र निर्वाचन आयोगलाई पनि पारदर्शिताका साथ कार्य गर्नुपर्ने धारणा प्रकट गर्नुभयो ।

संविधानलाई कार्यान्वयन गर्नुपर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य केसीले हिमाल, पहाड र तराईलाई संयोजन गरी सबैलाई राष्ट्रको मूलधारमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संविधान गतिशील दस्तावेज रहेकाले समयानुकूल संविधानको संशोधन भइरहने स्पष्ट पार्दै उहाँले नेपाली काँग्रेस मधेशको आधुनिकीकरण र विकासका लागि निरन्तररुपमा संघर्ष गर्दै आइरहेको जानकारी गराउनुभयो ।

सरकारको सय दिन पूरा भएको सन्दर्भमा उहाँले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको, तेस्रो चरणको निर्वाचनमा मधेशी मोर्चालाई सहभागी गराएको भन्दै समष्टिगतरुपमा सय दिनको कार्यकाललाई सफल ठान्नुपर्छ ।

मन्त्रिमण्डल विस्तारको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले संविधानलाई कार्यान्वयन गर्नुपर्ने र सबैलाई समेटेर लैजानुपर्ने भएकाले बाध्यात्मक परिस्थितिमा सरकार विस्तार भएको स्पष्ट पार्नुभयो । उक्त कार्यक्रम नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्