Logo

आलेखः आंगिक क्याम्पसमा आन्तरिक लेखा परीक्षणमै अनियमितता



काठमाडौँ, ३१ भदौ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा केन्द्रबाट खटिएका आन्तरिक लेखापरीक्षकको टोलीले अनियमितता गरेको भेटिएको छ ।

त्रिविबाट काज लिएर गएका लेखापरीक्षकले क्याम्पसको आन्तरिक लेखापरीक्षण गर्ने क्रममा ती क्याम्पसलाई पनि थप आर्थिक भार पारिदिएको पाइएको हो ।

अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा लामो समयदेखि क्रियाशील संस्था फ्रिडम फोरमको अगुवाइमा तारानाथ दाहाललगायतले सूचनाको हकको प्रयोग गरी माग गरेको सूचना प्राप्त भएपछि सोको अध्ययनबाट यी तथ्यहरू सार्वजनिक भएका हुन् ।

सूचना अध्ययन गर्दा धेरै क्याम्पसमा अत्यधिक बेरुजु रहेको, विभिन्न शीर्षकमा अनियमितता भएको, एकै मितिमा एकै व्यक्तिले दुईवटा क्याम्पसको आन्तरिक लेखापरीक्षण गरेको, काज लिएर जाँदा पनि क्याम्पसहरूलाई दोहोरो आर्थिक भारमा पारेको देखिएको छ ।

गत माघ महिनामा त्रिविअन्तर्गतका ६० वटै आंगिक क्याम्पसमा आन्तरिक लेखा परीक्षण गर्न जाने टोलीको क्याम्पसले भुक्तानी दिएको खर्च विवरणसम्बन्धी सूचना माग गरिएको थियो ।

सूचनाको हकसम्बन्धी ऐन २०६४ को समयसीमाभित्र सूचना उपलब्ध नभएपछि राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरिएको र सूचना दिनू भन्ने सूचना आयोगको आदेशपछि प्राप्त सूचना केलाउँदा आर्थिक अनियमितता भएको फेला परेको हो ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय आन्तरिक लेखा परीक्षण महाशाखाबाट आव २०७२÷७३ को आन्तरिक लेखा परीक्षणको कार्यादेश लिएर आर्थिक उप नियन्त्रकहरू विनोद केसी र गौतम शाक्य, लेखा अधिकृतहरू सुदर्शन थापा र राजेन्द्र लम्साल एक महिने भ्रमणमा निस्कनुभयो ।

उहाँहरूलाई २०७३ पुस २६ देखि माघ २६ गतेभित्र पूर्व क्षेत्रका आंगिक क्याम्पसहरूको आन्तरिक लेखा परीक्षणको जिम्मा दिइएको थियो । केन्द्रीय कार्यालयबाट दैनिक भ्रमण भत्ता र यातायात खर्चसमेत पाउने गरी काज भ्रमणमा निस्किएको आन्तरिक लेखा परीक्षण टोलीले महेन्द्ररत्न क्याम्पस इलामको लेखा परीक्षण गरेबापत रु ६५ हजार ६४० खर्च गराएर फर्कियो ।

लेखा परीक्षण अवधिमा खाएको, बसेको खर्च र केही यातायात खर्च अनि अन्य विविध खर्चहरू समेत क्याम्पसलाई व्यहोर्न लगाएर चारजनाको टोली लेखा परीक्षणको कार्य सम्पन्न गरी फर्किए ।

त्रिविअन्तर्गतका निकायहरूको आर्थिक अनुशासन कायम राख्न र आर्थिक कारोबारमा आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन गएको टोलीले नै नियमविपरीतको खर्च भुक्तानीलाई वैधता दिएपछि वर्षभरि हुने कारोबारमा कति आर्थिक अनियमितता हुन सक्ला भन्ने अनुमान जो कोहीले लगाउन सक्छ ।

क्याम्पसका लेखा शाखाहरू पनि हरेक वर्ष आउने यस्ता टोलीलाई खुशी पार्ने, हिसाब मिलान गर्न लगाउने भित्री उद्देश्यले प्रेरित भएको हुन सक्छ वा टोलीले अनावश्यक दुःख दिने नियतले बेरुजुहरू लेखिदिने हो कि भन्ने त्रासमा रहेका हुनसक्छन् । आन्तरिक लेखापरीक्षण टोलीको खर्च व्यहोर्ने यो परम्पराले यसलाई पुष्टि पनि गर्दछ ।



प्रतिक्रिया दिनुहोस्