Logo

स्वयम्भूको जीर्णोद्धार सुस्त गतिमा



काठमाडौ, ३१ भदौ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले शान्ति पोखरी अगाडि रहेको चैत्यको जीर्णोद्धार सम्पन्न गरेको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पका कारण सो चैत्यमा ठूलो क्षति भई जोखिममा परेको छ महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधरले त्यस क्षेत्रको जीर्णोद्धारका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको भए पनि विभिन्न कारणले काम अगाडि बढ्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

विभिन्न संघसंस्थाका प्रतिनिधिले आआफ्ना स्वार्थपूर्ण माग राखेर महासमितिलाई कानून विपरीत काम गर्न उक्साउने गरेकामा स्थानीयवासी चिन्तित देखिन्छन् । निःशुल्क पार्किङ क्षेत्रलाई शुल्क लिनका लागि विभिन्न तहबाट महासमितिलाई दबाब आइरहेको बताइएको छ ।

उपाध्यक्ष ज्ञानु लामाका अनुसार सो चैत्य कहिले बनेको हो भनेर यकिनका साथ भन्न नसकिए पनि प्राचीन समयदेखि अभ्यासमा रहेको हुनुपर्ने अनुमान गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत सो चैत्य अहिले संरक्षणको अभावमा जीर्ण छ । चैत्यको गोलाद्र्धका विभिन्न भागमा सामान्य चिरा परेको छ भने त्रयोदश भुवनका चक्का भत्कने स्थितिमा देखिएको छ ।

त्यस क्षेत्रको संरक्षणमा अहिले एउटा समिति छ । जसले चैत्य तथा त्यस वरपर क्षेत्रको व्यवस्थापन तथा मर्मत कार्यमा भूमिका निर्वाह गर्दै आएको छ । स्वयम्भू महाचैत्यदेखि करिब १ किमीको दूरीमा रहेको सानो चैत्यको सामान्य मर्मत तथा जीर्णोद्धार सोही महासमितिले गरिसकेको छ ।

चैत्य तथा प्राचीन महत्वका अन्य सम्पदा जीर्णोद्धारका लागि पुरातत्व विभाग र महासमितिले अध्ययन गरिरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार महासमितिले विभिन्न माध्यमबाट संकलन गरेको आर्थिक स्रोत खर्च गरी शान्तिपुर मर्मत गरिरहेको छ । पुरातत्व विभागले पुरानै स्वरुपमा मर्मत गर्न महासमितिलाई अनुमति दिएपछि जीर्णोद्धार अघि बढाइएको हो । त्य नयाँ प्रविधिको प्रयोग गरी चैत्यको मर्मतसम्भार पूरा गरिने महासमितिले जनाएको छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले ऐतिहासिक महत्वका पुरातात्विक क्षेत्र अबको दुई वर्षभित्र निर्माण गरिने योजना रहेको बताउँदै प्रतापपुर अबको एक वर्षमा सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

स्वयम्भूको अनन्तपुरको पुनःनिर्माणको अधिकांश कार्य सम्पन्न भइसकेको छ । त्यस क्षेत्रको अर्को प्राचीन महत्वको टासी गुम्बा पनि महासमितिले ८० प्रतिशतभन्दा बढी निर्माण गरेको छ ।

स्वयम्भू शब्द संस्कृत भाषामा ‘स्वयम् भवती’ बाट सिर्जना भएको छ । यसको अर्थ हो, आफैँ बन्छ अर्थात् दैवी शक्तिद्वारा निर्मित । स्वयम्भूनाथ चैत्य बौद्ध धर्मावलम्बीका लागि पवित्र तीर्थस्थलका रुपमा आस्था प्रकट गर्ने स्थल हो । हिन्दू धर्मावलम्बीले पनि स्वयम्भूको परिक्रमा गरी शान्तिको अनुभव गर्ने गरेको पाइन्छ ।

उक्त चैत्य उत्पत्तिबारे विभिन्न मानिसका फरक फरक विश्वास पाइन्छ । विपस्सी बुद्धले रोपेको कमल चमत्कारिक रुपमा उज्यालो भई ज्योति दिएको र त्यसबाट बुद्धदेव प्रकट भएको किंवदन्तीसमेत पाइन्छ । उक्त चैत्य उत्पत्ति भएको खबर पाएपछि चीनबाट मञ्जुश्री दर्शनका लागि नेपाल आएको विश्वास छ ।

सोही क्रममा मञ्जुश्रीले काठमाडौँ उपत्यका पानीले जलमग्न भएको देखेपछि दैवी शक्तिको प्रयोगबाट चोभारको गल्छीमा खड्गले काटेर निकास दिएपछि यहाँ बस्ती बसालेको केहीको विश्वास छ ।

महाचैत्य आसपास क्षेत्रमा भत्किएका सम्पदा तथा पुजारीका अधिकांश घर निर्माण हुने क्रममा रहेको कोषाध्यक्ष पुण्यसागर लामाले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्