Logo

प्रदेश नम्बर २ मा मतदानको तयारी, मतदाता लाइनमा



काठमाडौं २ असोज ।
दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनप्रति प्रदेश २ का मतदातामा अत्यन्त उत्साही देखिन्छन् । उनीहरु सोमबार हुने मतदानको व्यग्र प्रतीक्षामा छन् । निर्वाचन आयोगले सबै तयारी पूरा भएको र सुरक्षा व्यवस्था दुरुस्त पारिएको जनाउँदै निर्भयपूर्वक मतदानमा सहभागी हुन आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले ८ वटै जिल्लामा तयारी पूरा भएको जनाउदै तेस्रो चरणमा अझ बढी मत खस्ने दाबी गरे । ‘तेश्रो चरणको चुनावमा बिगतको भन्दा बढी मतदान हुनेछ,’ उनले भने ।

निर्वाचन तयारी अनुगमनपछि आइतबार धनुषा जिल्ला अदालतमा सञ्चरकर्मीहरुसंग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले ८ वटै जिल्लामा वैज्ञानिक तरिकाले सुरक्षा व्यवस्था मिलाइएको बताए । ‘चुनावमा कुनै घटना भए तत्काल नियन्त्रणमा लिन निर्देशन गरेको छु,’ उनले भने ।

मध्यतराईका जिल्लामा स्थानीय तहको निर्वाचनको सबै तयारी पूरा भएको सम्बन्धित अधिकारीले जनाएका छन् । मतदान केन्द्र, मतपत्र, मतपेटिका, सुरक्षा व्यवस्थालगायत काम पूरा भएको छ । पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले सुरक्षाका हिसाबले तयारी पूरा भएको दाबी गरे । ‘सबै मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने, ‘शान्ति सुरक्षाको अवस्था सन्तोषजनक छ ।’

जिल्ला निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले निर्वाचनसम्बन्धी सबै प्राविधिक तयारी पूरा भइसकेको बताए । ‘जिल्लाका ३ सय ४४ सबै मतदान केन्द्रमा तयारी पूरा भएको छ,’ उनले भने, ‘कर्मचारी, प्रहरी जनशक्ति र निर्वाचन सामग्री शुक्रबारै पुगिसकेका छन् ।’ एक मतदान केन्द्रमा आधा दर्जन कर्मचारी खटिएका छन् । महिला कर्मचारी वा महिला प्रहरीसमेतलाई सबै केन्द्रमा परिचालन गरिएको छ ।

पर्सामा २ लाख ८० हजार २ सय ११ मतदाता छन् । वीरगन्ज महानगरमा १ लाख ८ हजार ५ सय १ मतदाता छन् । महानगरमा मात्र १ सय २९ मतदान केन्द्र छन् । जिल्लाभरका मतदाताले ५ सय ८८ प्रतिनिधि चुन्नेछन् । महानगरको राधेमाई मन्दिर मतदान केन्द्रलाई नमुना मतदान केन्द्र बनाइएको छ । यो केन्द्रमा महिला कर्मचारी तथा महिलै सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला शिक्षा कार्यालयकी स्रोत व्यक्ति आशा गौतम मतदान अधिकृत छिन् ।

जिल्ला अदालतका ५ महिला कर्मचारी उनीसँगै खटिएका छन् । सुरक्षाकर्मी पनि अधिकांश महिला नै छन् । मतदान अधिकृत गौतमले पनि सम्पूर्ण तयारी पूरा गरिसकेको बताइन् । ‘यो जिल्लाकै नमुना मतदान केन्द्र हो,’ उनले भनिन्, ‘महिला पनि सबै काम गर्न सक्षम छन् भनी हामी प्रमाणित गर्नेछौं ।’

सर्लाहीमा पनि सोमबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतपत्र, मतपेटिकाजस्ता सामग्री मतदान केन्द्र पुर्‍याइसकिएको छ । मतदान केन्द्रमा महिला, पुरुष, अशक्त, अपांगता भएका व्यक्ति, वृद्धवृद्धालाई मतदान सहज हुने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत सूर्यप्रसाद अधिकारीले बताए ।

मतदान हुन एक दिन बाँकी रहँदा जिल्लाका कतिपय ठाउँमा अझै पनि मतदाता शिक्षा कार्यकर्ता पुगेका छैनन् । राजमार्ग क्षेत्रका सहज बजारमै पनि मतदाता शिक्षाका लागि नियुक्ति पाएका कार्यकर्ता घरघर नपुगेको गुनासो आएको छ । निर्वाचन आयोगले सञ्चार माध्यममार्फत गाउँ–गाउँमा मतदाता शिक्षा कार्यकर्ता खटिएको भनेर प्रचार गरे पनि मतदाताले भने अझैसम्म मत हाल्ने तरिका सिक्न पाएका छैनन् ।

मतपत्र लामो र ठूलो रहेकाले मतदान गर्दा बदर हुने सम्भावना रहेकाले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको भन्दै धेरैले असन्तुष्टि व्यक्त गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले खटाएको ठाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने स्वयंसेवकलाई कारबाही गरिने बताए ।

सुरक्षाका लागि ‘सीसी’ क्यामेरा

बारामा मतदानका लागि तयारी पूरा भएको छ । जिल्लाका १६ स्थानीय तहका मतगणनास्थलमा निगरानीका लागि सीसी क्यामरा जडान गरिएको छ । जिल्लामा ३ लाख ३४ हजार ७ सय ४६ मतदाता छन् । १६ स्थानीय तहमा ४ सय ५८ मतदान केन्द्र छन् । सबै केन्द्रमा सुरक्षा व्यवस्थापनलगायत तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।

मतदान केन्द्रमा खटिएका झन्डै ३ हजार कर्मचारीले मतदान केन्द्रमा स्वस्तिक छाप हाल्ने गोप्य स्थान (बन्द घेरा), मतदातालाई लाइन राख्ने घेरा, बारलगायत तयारी गरेको उनले बताए । घेराका लागि बाँस, भट्टा, डोरीलगायत सामान कतै अभाव हुँदा केही कठिनाइ भए पनि सबै तयारी भइसकेको उनले बताए ।

बाहिर रहेका मतदाता घर फर्कने लर्काे आइतबार दिनभर देखियो । मतदाता परिचयपत्र करिब सबै बाँडिसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनायो । कर्मचारी र सुरक्षाकर्मी मतदान स्थलमा खटिइसकेका छन् । मतपत्रहरू सबै मतदान स्थल पुगिसकेको छ । उता सुरक्षाका लागि सीमा सिल गरिएको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए ।

रौतहटका गाउँ–गाउँमा चुनावी रौनक छ । मतदानको तयारीमा उम्मेदवार, पार्टीका कार्यकर्ता र सर्वसाधारणसमेत जुटेका छन् । दुई दशकपछि प्राप्त अवसर भएकाले उनीहरू जसरी हुन्छ, मतदान गर्न उत्साहित छन् । जिल्लाबाहिर रहेकाहरू फर्किसकेका छन् । सीमावर्ती जिल्ला भएकाले मतदाता सुरक्ष्ाँका लागि पर्याप्त व्यवस्था गरिएको छ । मतपत्र तथा मतपेटिका लिएर मतदान केन्द्रमा निर्वाचन कर्मचारी खटिएका छन् । सुरक्षाकर्मी तैनाथ छन् ।

अप्रिय घटना हुन नदिन सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पैदल गस्ती गरिरहेका छन् । गाउँ–गाउँमा सुरक्षाकर्मीको संख्या बाक्लो छ । मतदान केन्द्रमा खटिएका कर्मचारीले दिनभर मतदाता परिचयपत्र वितरण र अपराहनदेखि मतदान स्थलमा तारबार गर्न जुटे । जिल्लाकै सबैभन्दा बढी मतदाता तथा जनसंख्या रहेको र वडा संख्यासमेत बढी भएको चन्द्रपुर नगरपालिकामा पनि निर्वाचन तयारी पूरा भएको निर्वाचन अधिकृत कमल भण्डारीले बताए । जिल्लामा १६ नगरपालिका र २ गाउँपालिकामा निर्वाचन तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाका १६ नगरपालिका र २ गाउँपालिका गरी १८ वटा स्थानीय तहमा १८ जना प्रमुख तथा उपप्रमुख निर्वाचित हुनेछन् । त्यस्तै, १ सय ५७ वटा वडामा वडाध्यक्ष, ६ सय २८ जना वडा सदस्य गरी जिल्लाभरमा स्थानीय तहमा ८ सय २१ जना पदाधिकारी निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि जिल्लाभरमा २ सय ७७ मतदान स्थल, ४ सय ३४ मतदान केन्द्र तोकिएका छन् । जिल्लामा १ लाख ७५ हजार ६४ पुरुष र १ लाख ४५ हजार ९ सय ५४ महिला गरी ३ लाख २१ हजार २८ मतदाता छन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्