Logo

केयूमा एमबीबीएस पढ्न ४८ लाख



काठमाडौं ४ असोज ।
सरकारले उपत्यकामा ३८ लाख ५० हजार, बाहिर ४२ लाख ४५ हजार सीमा तोकेको छ ।  काठमाडौं विश्वविद्यालय (केयू) ले ४७ लाख ९० हजार रुपैयाँसम्म लिन पाउने गरी सम्बन्धनप्राप्त कलेजहरूलाई एमबीबीएस अध्यापन शुल्कसीमा निर्धारण गरेको छ । सरकारले भने ०७३ मंसिर १९ मै उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँभन्दा बढी लिन नपाउने गरी शुल्कसीमा तोकेको थियो । गत वर्ष निर्धारित शुल्क दुई वर्ष लागू हुने व्यवस्था छ । केयूले कलेज सञ्चालककै सहमतिमा शुल्क निर्धारण गरेको जनाएको छ ।

विश्वविद्यालयका स्कुल अफ मेडिकल साइन्सका डिन राजेन्द्र कोजूका अनुसार काठमाडौं उपत्यकामा ४३ लाख ९० हजार र उपत्यकाबाहिर ४७ लाख ९० हजारसम्म लिन पाउने गरी शुल्कसीमा कायम गरिएको छ । केयूका कलेजहरूलाई गत वर्ष बढीमा एक सय १५ विद्यार्थी भर्ना गर्न छुट थियो । यसपालिदेखि एक सयभन्दा बढी पाइँदैन । १५ सिट घटदा प्रतिविद्यार्थी ५ लाख रुपैयाँ थपिएको विश्वविद्यालयले जनाएको छ ।

‘गत वर्ष एक सय १५ विद्यार्थी हुँदा जति शुल्क थियो, यसपालि एक सयमा झरेपछि १५ जनाको शुल्क सय जनालाई भाग लगाइएको हो,’ कोजूले भने, ‘गत वर्ष सरकारले तोकेभन्दा बढी अन्डरटेबल लिने गरिएकोमा यसपालि हामी तोकेभन्दा बढी शुल्क नलिने ग्यारेन्टी गर्छौं ।’ विद्यार्थी संख्या घटे पनि प्रशासनिक खर्च नघट्ने भएकाले शुल्क बढाउनुपरेको कलेज सञ्चालकको दाबी छ । निर्धारित शुल्कभन्दा बढी लिए विश्वविद्यालयले जिम्मेवारी लिने कोजूले बताए । ‘अब विश्वविद्यालय साक्षी बसेर अभिभावक र कलेजले सम्झौता गर्ने व्यवस्था गरेका छौं,’ उनले भने ।

कलेजले यस वर्षदेखि मेरिटका आधारमा सेन्टर काउन्सिलिङ गरेर मात्र विद्यार्थी भर्ना लिने जनाएको छ । यसअघि कलेजमा जसले बढी शुल्क तिर्‍यो, उसैले भर्ना पाउँथ्यो । मेरिटका आधारमा भर्ना नभएको भन्दै अदालतमा मुद्दासमेत परेको थियो । भर्नाका लागि बुधबारबाट काउन्सिलिङ सुरु हुँदैछ । विद्यार्थीले त्यही दिनदेखि कलेजमा सिट बुकिङ गर्न २ लाख रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ । बुकिङ गरेको केही दिनमा तोकिएको शुल्कको ५० प्रतिशत कलेजको खातामा जम्मा गरिदिनुपर्ने प्रावधान छ । बुक गरेपछि कलेज छाड्न नपाउने नियम पनि बनाइएको छ ।

केयूमा एमबीबीएस अध्ययन गर्न ४ हजार २ सय जनाले प्रवेश परीक्षा पास गरेका छन् । यीमध्ये एक हजारजति मात्रै भर्ना हुन पाउँछन् । त्यसमा पनि ३ सय सिट विदेशी विद्यार्थीका लागि सुरक्षित गरिएको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्