Logo

यसकारण हार्‍यो जनकपुरमा कांग्रेस



काठमाडौं ९ असोज ।
तत्कालीन महामन्त्री स्वर्गीय महेन्द्रनारायण निधिको स्वर्णिम इतिहास बोकेको मिथिला नगरी जनकपुरधाम सांगठनिक रुपले नेपाली कांग्रेसको गढ मानिए पनि विभिन्न समयमा भएका निर्वाचनको परिणाम भने कांग्रेसको लागि सुखद् रहेको छैन । स्थानीय तह निर्वाचनमा जनकपुरका मतदाताले पुन: पूरानो इतिहास दोह्राएको छ र जनकपुर उपमहानगरपालिकाको मेयर, उपमेयरसहित २५ मध्ये आधाभन्दा बढी वार्डमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारहरुलाई फराकिलो मतान्तरले विजयी बनाएको छ । मेयर, उपमेयरका कांग्रेस उम्मेदवार आधाभन्दा बढी मतान्तरले पराजित भएका छन् ।

नेपाली कांग्रेसका चाणक्य भनिने पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि, गृहनगर जनकपुर कब्जा गर्न भरमग्दूर प्रयास गरेका थिए । निर्वाचनको मुखमा निधि चार दिन जनकपुर बसेर पार्टीका उम्मेदवारहरुको पक्षमा कोठे छलफल तथा बैठकहरु गरे । जातीय तथा युवा संघसंगठनहरुलाई गोलबन्द गर्ने प्रयास गरे तर उनको यो प्रयास सफल हुन सकेन । अन्तत: कांग्रेस नराम्ररी हारे ।

२०४६ सालको जनआन्दोलनपश्चात् भएको पहिलो संसदीय निर्वाचनमा नेकाका महेन्द्रनारायण निधि जनकपुर क्षेत्रबाट अत्यधिक मतान्तरले विजयी भएका थिए । धनुषाका पाँचबटै संसदीय क्षेत्रमा कांग्रेसका उम्मेदवारहरु विजय भए । २०५१ को मध्यावधि निर्वाचनमा पनि कांग्रेसका विमलेन्द्र निधि फराकिलो मतान्तरले सांसद चयन भए र ५६ सालमा सम्पन्न संसदीय निर्वाचनमा विमलेन्द्र निधिलाई राप्रपाका कृष्णप्रताप मल्लले नराम्ररी हराए । अन्तत: निधि आफ्नो संसदीय क्षेत्र परिवर्तन गरी धनुषा ३ बाट दुबै संविधानसभा निर्वाचनमा विजयी भए । पछिल्लोपटक सम्पन्न दुबै संविधानसभा निर्वाचनमा निलम्बित सांसद् सञ्जयकुमार साह विजयी भए । पहिलोमा उनी मधेसी जनअधिकार फोरमको टिकटमा तथा दोस्रोमा सद्‌भावना पार्टीको टिकटमा संविधानसभा पुगेका थिए ।

स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसको प्रदर्शन निरासाजनक नै रहेको छ । बहुदलीय व्यवस्था आएपछि सम्पन्न पहिलो स्थानीय निकायको निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवारहरुलाई परास्त गरी कांग्रेसकै वागी उम्मेदवारहरु बृषेशचन्द्र लाल (मेयर) तथा लालकिशोर साह विजयी भएका थिए । दोस्रोमा पनि कांग्रेसका आधिकारिक उम्मेदवारलाई परास्त गरी बजरंगप्रसाद साह र किशोरी साह विजयी भएका थिए । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्