काठमाडौं ११ असोज ।
भारतीय दम्पतीले दुई वर्षअघि झुटो विवरण बुझाई सगरमाथा आरोहणको प्रमाणपत्र बुझ्यो । उजुरीपछि छानबिन हुँदा त्यो गलत पुष्टि भयो । सरकारले भारतीय दम्पतीलाई १० वर्ष नेपाल प्रवेशमा रोक लगायो तर आरोहणको गलत रिपोर्ट दिने अरुण ट्रेक र सम्पर्क अधिकृतलाई कुनै कारबाही भएन । जबकि सम्पर्क अधिकृतको प्रतिवेदनविना आरोहणको प्रमाणपत्र दिइँदैन ।
-सगरमाथा आरोहणक्रममा बिरामी भएकाको रेस्क्यु र मृत्यु भएकाको मुचुल्का गर्दा सरकारी प्रतिनिधिको हस्ताक्षर नभएको भन्दै बिमा कम्पनीले क्षतिपूर्ति दिएन ।
-सगरमाथा आधारशिविर र मकालु आधारशिविरमा विदेशी आरोहीमाथि आक्रमण भयो । तर, सरकारी प्रतिनिधि नहुँदा विदेशी आरोही आतंकित बनेर फर्किए।
-मनास्लु हिमाल आरोहणक्रममा सोमबार ४६ वर्षीय बेलायती आरोही फिल्लिप जोसेफ हार्भेको मृत्यु भयो तर सम्पर्क अधिकृतमा खटिएकी करिश्मा भण्डारीलाई त्यसबारे पत्तो थिएन ।
-हुतहुत आँधीले पर्यटक मारिए, त्यस्तोमा समेत सम्पर्क अधिकृत उपलब्ध नहुँदा विश्वभर नेपालको पर्वतारोहण असुरक्षित भन्ने सन्देश गयो ।
यी केही उदाहरण मात्र हुन् । सम्पर्क अधिकृत (सरकारी कर्मचारी) को अनुपस्थितिले आरोही र पर्यटकमाथि आक्रमणदेखि हत्यासम्मको घटना हुने गरेका छन् । पर्वतारोहणमा नेपाल विश्वमै नाम कहलिए पनि राज्यले खटाउने सम्पर्क अधिकृतका कारण बदनाम हँदै गएको छ ।
विश्वका आरोही लाखैाँ खर्चेर आउने गरे पनि नेपालमा राज्य पक्षले सहयोग गर्दैन भन्दै फर्कने गर्छन्।
प्रत्येक वर्ष आरोहण दलसहित आरोहण गर्न नेपाल आउने विश्वचर्चित पर्वतारोही रोसल ब्राइस सम्पर्क अधिकृत आरोहीको पक्षमा नभएको बताउँछन् ।
सम्पर्क अधिकृतको आरोहीसँग प्रत्यक्ष सम्पर्क नहुँदा, आधारशिविर नपुग्दा दर्जनांै आरोहण असफलसमेत हुने उनी उल्लेख गर्छन् । सम्पर्क अधिकृतको अनुपस्थितिमै समन्वय अभावले रोप फिक्सिङ (बाटोमा डोरी टाँग्ने) गर्न नसकेर आरोहण असफल हँदा आरोहीले हरेक वर्ष करोडैाँ लगानी खेर फाल्नुपरेको उनले सुनाए । ९५ प्रतिशत सम्पर्क अधिकृत आधारशिविर नपुग्ने र केही पुगे पनि तुरुन्तै फर्कने गरेका छन् ।
पर्यटन मन्त्रालयले आफूले रुचाएका मानिसलाई सम्पर्क अधिकृत बनाई मोटो रकम दिलाउने पुरानै चलन हो । यसमा पहुँचवाला कर्मचारी प्रायः पर्छन् । जबकि पर्वतारोहण र सुरक्षा समन्वयसम्बन्धी भरपर्दो ज्ञान र अनुभव भएको व्यक्ति हुनुपर्ने नियम छ । तर, उच्चपदस्थको तजविजतमा कुनै ज्ञान नभएका मानिस वर्षमै २ पटकसम्म सम्पर्क अधिकृत बनेको पाइन्छ ।
पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराई फिल्डमै जानुपर्छ भनेर कानुनले भनेको र आरोहण दललाई ब्रिफ गर्दा पनि काम, कर्तव्यबारे प्रस्ट पारिने उल्लेख गर्छन् ।राज्य पक्षले गर्नुपर्ने सम्पूर्ण काम सम्पर्क अधिकृतले गर्ने गरी हिमाल पठाइनेमा नगएको विषयलाई लिएर अनुसन्धान थालिएको उनले सुनाए ।
मन्त्रालयले शारीरिक क्षमता भन्दा पनि पहुँचका आधारमा सम्पर्क अधिकृत खटाउने प्रचलन नहटेसम्म पर्वतारोहण सुधार नहुने पर्वतारोही गाइड छिरिङ पाण्डे भोटे बताउँछन् । प्रायः विदेशी आरोही राज्यका कर्मचारीले सहयोग नगरेको आरोप लगाउँछन् ।आरोहणको रिपोर्ट काठमाडौंमै बसेर बुझाउँदा फोहोर, सुरक्षा सतर्कता र आरोहणमा समस्या हुने गरेको उनीहरूको भनाइ छ ।
अधिकांश विदेशी आरोहीले सम्पर्क अधिकृतलाई नकारात्मक दृष्टिले हेर्ने नेपाल राष्ट्रिय पथ प्रदर्शक संघका महासचिव गाइड फूर्वा नाम्गेल शेर्पा बताउँछन् ।
यसै वर्ष ३९ आरोहण दलले आरोहण गरे तर नेपाली सेनाका दुई जनाबाहेक बाँकी कोही आधारशिविर पुगेनन् । चालु सिजनमा ३४ आरोहण दल हिमाल पुगे पनि सम्पर्क अधिकृत काठमाडौंमै बसेको शेर्पा खाङ्ग्री ट्रेकिङ एजेन्सीका प्रमुख तेम्बाछिरी शेर्पा दाबी गर्छन् ।
उनले आफ्नो टोली मनास्लु हिमालको आधारशिविर पुगेर आरोहणमा सरिक भइसके पनि सम्पर्क अधिकृत नआएको भन्दै आक्रोश पोखे । सम्पर्क अधिकृतहरू आधारशिविर नआउने, काठमाडौमैं बसेर गलत रिपोर्टिङ गरिदिन्छु भन्दै धम्क्याउने गरेको उनले गुनासो गरे ।
एक एजेन्सी प्रमुखको आरोप झन् गम्भीर छ । ‘हामी आधारशिविर जानुअघि नै सम्पर्क अधिकृतलाई लत्ताकपडादेखि अत्यावश्यक सामग्री खरिद गरिदिनुपर्छ र कानुनले तोकेको भत्तासहित पाँच लाखसम्म नदिएमा सिन्को भाँचिँदैन’, उनी भन्छन् ।
गत वर्ष खुम्बुको थुक्लामा पर्वतारोहणबारे कुनै ज्ञान नभएका एक सम्पर्क अधिकृतको मृत्यु भयो । आरोहण टोलीलाई सुरक्षित र यात्रा व्यवस्थित पार्ने जिम्मेवारी सम्पर्क अधिकृतको भए पनि उल्टै उनीहरूलाई कसरी जोगाउने भन्ने चिन्ता लिनुपर्ने सेभेन समिट ट्रेकिङ एजेन्सीका प्रमुख मिङमा शेर्पाले बताउँछन् । ‘आधारशिविरको यथार्थ जानकारी नआएपछि समस्या पर्छ’, उनले भने ।
पर्यटन विभागको समन्वयमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले स्नातक गरेका नासुभन्दा माथिका कर्मचारीलाई एक साताको तालिम दिएर हिमाल पठाउने गरेको छ । उनीहरू शारीरिक रुपले पनि सक्षम हुनै पर्छ । अहिलेसम्म तीन हजार पाँच सय ६० जनाले सम्पर्क अधिकृतका लागि तालिम लिइसकेका छन् ।
नेपाल पर्वतीय प्रतिष्ठानले स्थलगत अध्ययन, विदेशीसँग गरिने सम्बन्ध, सुरक्षा, हाइअल्टिच्युड र व्यक्तिगत सुरक्षाबारे दक्ष गाइडबाट तालिम दिने गरेको छ । तर, ती कुरा प्रयोगमा ल्याइँदैनन् ।
पाकिस्तान, भारतलगायत देशमा आरोहण दलसँग सेनालाई पठाइने गर्दा नेपालको जस्तो समस्या उत्पन्न नहुने आरोही माया शेर्पाले बताए । चीनले त सम्पर्क अधिकृतलाई टोलीसँगै चुचुरोसम्म पठाउने गरेको छ ।
चालु सिजनमा ३४ आरोहण दल हिमाल पुगे पनि सम्पर्क अधिकृत काठमाडौंमै छन् ।
तेम्बाछिरी शेर्पा, शेर्पा खाङ्ग्री ट्रेकिङ एजेन्सी प्रमुख
-नासुभन्दा माथिका कर्मचारी सम्पर्क अधिकृत
-एक साताको तालिम दिएर हिमाल पठाइने
-शारीरिक रूपले सक्षम हुनै पर्ने
-३५६० जनाद्वारा सम्पर्क अधिकृतको तालिम
-पाकिस्तान–भारतमा आरोहण दलसँग सेना पठाइने
-चीनमा सम्पर्क अधिकृतलाई चुचुरोसम्म पठाइने
-९५ प्रतिशत सम्पर्क अधिकृत आधार शिविर नपुग्ने
-पुगेका पनि तुरुन्तै फर्कने
-पहुँचवाला कर्मचारीको हालीमुहाली
अन्नपूर्णपोष्टमा खबर छ ।