काठमाडौं १२ असोज ।
हरेक वर्ष सेप्टेम्बर तेस्रो मंगलबार संयुक्त राष्ट्रसंघको महासभा बैठक बस्छ । विश्वभरका नेता भेला हुने यो ‘कुम्भ मेला’ कर्मचारीहरूको घेरामा आफ्ना कुरा राख्ने थलोका रूपमा परिचित छ । विश्व चर्चित यो मञ्चमा विश्वका ठूला–साना नेताहरूले आफ्ना कुरा राख्ने र तल कर्मचारी बसेर सुन्ने सभाको ढाँचा छ । संसद्मा झैं कर्मचारीले तय गरिदिएको भाषण तिनै कर्मचारीलाई सुनाउने यो थलोमा पुग्न अल्पविकसित मुलुकका नेताहरू तँछाडमछाड गर्छन् । विकसित मुलुकहरू भने पहिलोबाहेक अन्य दिनका सत्रलाई खासै चासो राख्दैनन् ।
विश्व राजनीतिमा सक्रिय मुलुकहरू पहिलो दिनै आफूलाई उक्त मञ्चमा प्रस्तुत गरेर आफ्नो प्रभाव छाड्छन् । त्यसपछिका दिन उनीहरूका लागि प्रभावहीनझैं हुन्छन् । नेपालजस्ता अल्पविकसित मुलुकहरूका लागि यो स्थान केही पनि नजानेका नेताहरू गएर बोल्ने स्थानजस्तो बन्दै गएको छ । अन्यका लागि भने मन माझने थलो ।
कुनै बेला राष्ट्रसंघमा गरिएको भाषणको महत्त्व नै फरक हुन्थ्यो । तर, अहिले कसैले पनि त्यहाँ गरेको भाषणलाई गम्भीर रूपमा लिँदैनन् । तीन महिनासम्म चल्ने महासभाको विभिन्न सत्रमा बोलिने धारणाको पनि खासै महत्त्व रहँदैन । उच्चस्तरीय बहसको पहिलो दिन ‘हेवी वेट’ नेताहरू अर्थात् शक्ति मुलुकका नेताहरू बोल्छन् । रुचि राख्ने केही मुलुकले हेर्छन्, अन्यका लागि खासै महत्त्व रहँदैन । हलमा मानिससमेत नहुने अवस्था देखिँदोरहेछ । खालीझैं देखिने कुर्सी अगाडि भाषण चलिरहेको हुन्छ ।
महासभामा भाग लिन आएका टोलीका अधिकांश सहभागी हलमा बस्नेभन्दा पनि आफन्त भेटघाट, घुमघाम र सपिङमा अलमलिन्छन् । त्यो रोग नेपालबाट आउनेको हकमा मात्र होइन, अन्यका लागि पनि लागू हुने रहेछ । अझ नेपालजस्ता कतिपय मुलुकले त आफ्नो मन्त्रालयको राष्ट्रसंघ हेर्ने महाशाखा प्रमुखलाई केही समय यतैको काजसमेत दिएर आफन्त भेट्न सहज बनाइदिने रहेछन् । स्थायी प्रतिनिधि र अन्य उनी मातहत सहसचिवस्तरकै व्यक्ति रहँदा पनि त्यस्तो आवश्यकता ठानिने चलन नेपालजस्ता मुलुकमा झन् रहेछ । यस्ता अर्थहीन भ्रमण र बसाइबारे अझै बहस हुन बाँकी छ ।
नेपालजस्ता मुलुकको पालो त महासभा सुरु भएको पाँचौं दिन आउने रहेछ । त्यो पनि हाम्रा कर्मचारीले निकै मिहिनेत गरेर होइन, नेताले पत्याइदिएर । आरम्भमा आएकाहरू त्यतिबेलासम्म सपिङसमेत सकेर फर्किसक्ने रहेछन् । यस अर्थमा हाम्रो जस्तो मुलुकका लागि राष्ट्रसंघ साँच्चै एक परम्परागत रूपमा मन हलुंगो पार्ने क्लब (अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई क्लब भनेका छन्) जस्तो रहेछ । आफूलाई चित्त नबुझेको कुरा व्यक्त गर्ने थलो ।
यहाँ हरेक मुलुकका धारणा बाझिएको देखिन्छ । ‘प्राय:जसो यो संस्थाको जोड परिणाममा नभई कर्मचारीतन्त्र र प्रक्रियामा रहेको छ, निकै खराब मानव अधिकारको आँकडा भएका देशहरू राष्ट्रसंघको मानव अधिकार परिषद्मा छन् जुन लाजमर्दो विषय हो,’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने । यसको महत्त्व कस्तो छ, के भइरहेको छ भन्ने भित्री पाटो केलाउने फुर्सद कसैलाई छैन । यसबाट पनि स्पष्ट हुन्छ, राष्ट्रसंघको अवस्था र यसलाई हेर्ने विश्व नेताको दृष्टि । हुन त ट्रम्पको धारणा सबै स्थानमा विवादित बनेको छ । यहाँ पनि उनको धारणाले विवाद (बहस) सिर्जना गरेको छ ।
कान्तिपुरबाट