Logo

दशैमा पनि दलहरू उम्मेदवार छान्न व्यस्त



काठमाडौं १३ असोज । दशैमा पनि दलहरुलाई उम्मेदवार छान्न् चटारो देखिएको छ। नेपाली कांग्रेसले १० र २१ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेतानिकट भन्दा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने रणनीति बनाएको छ ।स्थानीय तहको निर्वाचनबाट दोस्रो स्थानमा खुम्चिएको कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छान्दा नेतानिकट भन्दा लोकप्रिय व्यक्तिलाई टिकट दिने रणनीति बनाएको हो ।

कांग्रेस नेता प्रकाशशरण महतले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट सुरु भइसकेको भन्दै नेतानिकटकालाई भन्दा पनि चर्चित व्यक्तित्व र लोकप्रियता प्राप्त व्यक्तिमा पार्टीले विशेष ध्यान दिने बताए ।

कांग्रेसले मिति नै तोकेर वडा, क्षेत्र र जिल्ला हुँदै केन्द्रीय समितिलाई उम्मेदवारको सिफारिस गर्न भनेको हो । नाम सिफारिस गर्दा दुईवटै निर्वाचनका लागि एकैपटक पठाउन र तोकिएकै समयभित्र पठाउन कांग्रेसले आफ्ना स्थानीय कमिटीलाई निर्देशन दिइसकेको छ । कांग्रेसले वडा, क्षेत्र, जिल्ला हुँदै केन्द्रमा नाम सिफारिस गर्ने प्रक्रियाका लागि मितिसहित स्थानीय पार्टी नेतृत्वलाई पत्राचार गरिसकेको हो । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले वडाले १० असोजसम्म, क्षेत्रले १३ र जिल्लाले १५ असोजसम्म नाम टुंगो लगाएर केन्द्रलाई १७ असोजसम्ममा बुझाउन भनिएको जानकारी दिए ।

यसरी नाम सिफारिस गर्न केन्द्रले स्थानीय नेतृत्वलाई निर्देशन दिँदासमेत टुंगो लाग्न नसके पार्टीले संसदीय बोर्ड बनाएर टुंगो लगाउने पौडेलले जानकारी दिएका हुन् ।

मुख्य दलहरूबीच प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि भित्री तयारी बढिरहेका बेला कुन दलले कस्ता उम्मेदवार छनोट गर्छन् र आफ्ना उम्मेदवार तोक्ने भन्ने रणनीतिसमेतमा दलहरू लागेका छन् । मुख्य दलहरूमा आकांक्षी बढी देखिँदा सहज रूपमा उम्मेदवारको नाम टुंगो लाग्ने र समयमै सहमति जुट्ने अवस्था भने छैन ।

एमाले पनि गोप्य छलफलमा
प्रमुख प्रतिपक्षी दल एमालेले पनि मंगलबार उम्मेदवार छनोटको मापदण्ड तयार गरेर तल्ला कमिटीहरूलाई नामावली पठाउन निर्देशन दिएको छ । पार्टीको निर्देशनअनुसार दसैंकै बीचमा स्थानीय कमिटीहरू उम्मेदवार छनोटका लागि बैठक गर्न थालेका छन् । क्षेत्रीय र प्रदेश हुँदै १७ गतेसम्म जिल्लामा नाम पठाइसक्नुपर्ने एमालेको कार्यतालिका छ । त्यो कार्यतालिकाअनुसार काम गर्नुपर्ने भएकाले तल्ला कमिटीहरू व्यस्त हुन थालेका छन् । एमालेले २३ गतेभित्र केन्द्रमा नाम पठाउन मातहतका पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ । तोकिएकै समयमा नाम सिफारिस गर्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिइएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

माओवादीका आकांक्षी लबिइङमा

आगामी १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छान्न नेकपा माओवादी केन्द्र होमिएको छ । प्रदेश २ मा स्थानीय तह निर्वाचनको मतपरिणाम अझै आइनसकेकाले बैठक बस्ने तथा उम्मेदवार चयनको कार्य अघि नबढे पनि अन्य ६ वटै प्रदेशमा बैठक बस्ने र उम्मेदवारी छान्ने चटारो छ ।

प्रदेश १ को आइतबार र सोमबार बैठक बस्यो भने सुनसरी, झापा र मोरङबाहेक जिल्लाको उम्मेदवारी छनोट गरेको सचिवालय सदस्य मौसम लिम्बूले जानकारी दिए ।माओवादी केन्द्रले सबै जिल्ला पार्टी कमिटीलाई १३ असोजसम्म सबै उम्मेदवारको सिफारिस गरेर पठाउन निर्देशन दिइसकेको छ । पार्टी प्रवक्ता पम्फा भुसालले जिल्लाजिल्लाबाट उम्मेदवारहरूको सिफारिस भइरहेको बताउँदै १६ असोजमा बस्ने उम्मेदवार छनोट समितिको बैठकले अन्तिम टुंगो लगाउने तयारी रहेको बताइन् ।

मधेसवादी दल पनि ताते

मधेसवादी दल प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोटको तयारीमा जुटेका छन् । राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमले उम्मेदवार छनोटको तयारीमा जुटेका छन् । राजपा नेपालको बबरमहलस्थित केन्द्रीय पार्टी कार्यालयमा मंगलबार सम्पन्न पार्टी सचिवालय र राजनीतिक समितिको बैठकले दसैं बितेको सात दिनभित्र उम्मेदवार छनोट गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्