Logo

कर्णाली नदीमा डुबेर दुई युवक बेपत्ता, फरक घट्नामा दुई किशोरीको मृत्यु



काठमाडौं १६ असोज । कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा नुहाउन गएका दुई युवक नदीमा डुबेर आइतवार बेलुका बेपत्ता भएका छन् ।

चिसापानी प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर बोहराले मोहन्याल गाउँपालिकाको पितमारीस्थित कर्णाली नदीमा नुहाउन गएका टीकापुर नगरपालिका–९ का २० वर्षीय मुकुन्द न्यौपाने र २१ वर्षीय रमेश न्यौपाने नदीमा डुबेर बेपत्ता भएको जानकारी दिए ।

नुहाउने क्रममा नदीको गहिराइ नाप्ने भन्दै नदीको भूमरी नजिक पुगेका दुवैजना डुबेर बेपत्ता भएको बताइएको छ ।

बेपत्ता हुनेको खोजी शुरु गरिएको प्रहरी निरीक्षक बोहराले बताए । कर्णाली पुलको चिसापानी बजारदेखि झण्डै दुई किमी उत्तरतर्फ रहेको पितमारी वनभोज स्थलका रुपमा लोकप्रिय छ ।

यसैबीच बैतडीको दोगडाकेदार गाउँपालिका–१ रिमकी सात वर्षीया बालिका बसन्ती भुलको आइतवार नै जमादी खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको समाचार छ ।

दिउँसो गोठालो गएका बेला नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

त्यस्तै कपिलवस्तुमा पनि एक किशोरीको नदीमा डुबेर मृत्यु भएको छ । दुर्गाको मूर्ति विसर्जन गर्न जाँदा महाराजगञ्ज नगरपालिका–७ कुशहवाकी १८ वर्षीया रोशनी शुक्लाको कञ्चनिया नदीमा डुबेर मृत्यु भएको हो ।

आइतवार बिहान कलश सेलाउन नदीमा पस्दा डुबेर उनको ज्यान गएको इलाका प्रहरी कार्यालय, बहादुरगञ्जले जनाएको छ । दुर्गाको मूर्ति विसर्जन गर्ने टोलीमा सामेल भएर उनी नदीमा गएकी थिइन् ।

उनको शव परीक्षणका लागि शिवराज अस्पताल, बहादुरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस्