काठमाडौं १७ असोज । कांग्रेस–माओवादी नयाँ गठबन्धन बनेको १४ महिना नपुग्दै वाम गठबन्धनको गृहकार्य सुरु भएको छ । गठबन्धन धरमरमा पर्नुको कारण आधिकारिक रूपमा प्रमुख कुनै दलले नभने पनि यसबीच कांग्रेस–माओवादी केन्द्रबीचको सत्ता सहकार्यको अनुभव, स्थानीय तहको चुनावी परिणाम, दलका एजेन्डामा आपसी तिक्तता र आउँदो मंसिरमा हुने प्रदेश र केन्द्रको चुनाव नै गठबन्धन फेरबदलको कारण हुन सक्ने देखिन्छ ।
कांग्रेस र माओवादी केन्द्रले चाहेर पनि प्रदेश २ मा चुनावी तालमेल गर्न सकेनन् । छिटपुट रूपमा भएका तालमेल पनि सफल भएनन् । यी दुई दलसँग परिणाममा पहिलो र दोस्रो भए पनि तालमेल हुन नसकेको तीतो अनुभव छ । उता एमालेले पनि तराई–मधेसमा आकलन गरेजति मत प्राप्त गर्न सकेन । एक अर्थमा उसले मधेसमा आफ्नो स्थानलाई ‘मिस’ गरेको छ । माओवादी केन्द्रसँग सहकार्य हुन सकेको भए एमाले प्रदेश २ मा पनि पहिलो स्थानमा आउन सक्ने नेताहरूको विश्लेषण छ । किनकि माओवादी केन्द्र एक्लैले उक्त प्रदेशमा दोस्रो स्थान हासिल गरेको छ । कतिपय पदमा एमालेका उम्मेदवार थोरै मतान्तरमा पराजित भएका छन् ।
कांग्रेस र माओवादी केन्द्रका विपरीत धारका सिद्धान्त र पार्टी एजेन्डाले आगामी चुनावमा असर पर्ने आशंका पनि छ । सोमबारकै माओवादी सचिवालय बैठकमा बोल्ने कतिपय नेताले यो प्रश्न उठाएका थिए । ‘पार्टीले बोकेका सिद्धान्त नमिले कार्यगत एकता गर्दा जनतामाझ फेस गर्न गाह्रो पर्छ । त्यसैले पनि कार्यगत एकताबारे पुनरावलोकन गर्नुपर्छ भन्ने कुरा उठ्यो,’ सचिवालय बैठकमा सहभागी एक नेताले सुनाए । कान्तिपुरले लेखेको छ ।