Logo

एकसय घरधुरी अन्धकारमा बस्न बाध्य



बैतडी, १९ असोज । सुर्नया गाउँपालिका–६ मा रहेको तेस्रो सुर्नयागाड लघुजलविद्युत् आयोजना बन्द भएको छ । आयोजनाको उपकरणमा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध भएको आयोजना सञ्चालक समितिले जनाएको छ ।

बाह्र किलोवाट क्षमताको उक्त लघुजलविद्युत् आयोजना गएको एक सातादेखि बन्द रहेको सञ्चालक समितिका अध्यक्ष डम्मरदत्त अवस्थीले बताउनुभयो ।

आयोजनाको उपकरण बिग्रिएको र बनाउन रु पाँच लाखभन्दा बढी खर्च लाग्ने तर सञ्चालक समितिसँग मर्मतका लागि आवश्यक रकम नहुँदा मर्मत गर्न नसकिएको उहाँले बताउनुभयो ।

लघुजलविद्युत् आयोजना बन्द भएसँगै सुर्नया गाउँपालिका–६ का करिब सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइल चार्ज गर्नदेखि लिएर अन्य काममा समेत समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।

यस्तै सुर्नया गाउँपालिका–६ मा रहेका सुर्नयागाड लघुजलविद्युत् आयोजना बन्द भएको दुई वर्षभन्दा बढी भए पनि सञ्चालनमा आउन सकेको छैन ।

स्थानीयस्तरमा लघुजलविद्युत् आयोजनाको व्यवस्थापन गर्न नसक्दा लघुजलविद्युत् आयोजना बन्द भएको हो । पछिल्लो समयमा व्यवस्थापनको अभाव, आर्थिक समस्या लगायतका कारणले जिल्लाभरिका लघुजलविद्युत् आयोजना धमाधम बन्द हुँदै गएका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्