Logo

भारतीय विज्ञ टोली नेपालमा, इपिजी बैठकको एजेण्डा सीमा व्यवस्थापन



काठमाडौं २१ असोज । नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को पाँचौँ बैठक शनिबार बस्ने भएको छ । यसपटकको बैठकमा नेपाल–भारत सीमा व्यवस्थापन प्रमुख एजेन्डा रहेको छ । बैठकमा सहभागी हुन भारततर्फका तीनजना सदस्य शुक्रबार काठमाडौं आएका छन् ।

बैठकमा नेपालतर्फबाट संयोजक डा. भेषबहादुर थापा तथा सदस्यहरू डा. राजन भट्टराई, नीलाम्बर आचार्य र सूर्यनाथ उपाध्याय सहभागी हुनेछन् । भारतबाट संयोजक भगतसिंह कोस्यारी तथा सदस्यहरू डा. बिसी उप्रेती र महेन्द्र पी लामा सहभागी हुनेछन् ।

भारततर्फका सदस्य पूर्वराजदूत जयन्तप्रसाद भने माइनर हर्टअट्याक भएका कारण बैठकमा आउन नसकेको नेपालतर्पmका सदस्य डा. भट्टराईले जानकारी दिए । ‘यसपटकको बैठकमा पनि दुईपक्षीय सम्बन्धका सबै विषयमा छलफल हुन्छ । सीमा व्यवस्थापनबारे पनि छलफल हुन्छ,’ डा. भट्टराईले नयाँ भने ।

इपिजीको चौथो बैठक १७ देखि १७ जेठसम्म भारतको देहरादुनमा भएको थियो । उक्त बैठकमा नेपाल–भारत शान्ति तथा मैत्री सन्धिबारे छलफल भएको थियो । त्यसअघि काठमाडौंमा २३ र २४ चैत ०७३ मा काठमाडौं बसेको तेस्रो बैठकमा नेपालका तर्फबाट १९५० को सन्धि, व्यापार तथा पारवहन सन्धि र जलस्रोतसम्बन्धी सन्धि–सम्झौतामा नेपालले चाहेको परिमार्जन पेस भएको थियो ।

इपिजीको दोस्रो बैठक १८ र १९ असोज ०७३ मा नयाँदिल्लीमा भएको थियो । पहिलो बैठक भने नेपालले २० र २१ असारमा काठमाडौंमा आयोजना गरेको थियो । नेपाल–भारत प्रबुद्ध समूहको पहिलो बैठकको पहिलो एजेन्डा १९५० को शान्ति तथा मैत्री सन्धि थियो । समूहको पहिलो बैठक बसेको मितिअनुसारको दुईवर्षे अवधि ०७५ असारमा सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्