Logo

६ गठबन्धनको तालमेल पक्का, कांग्रेस गठबन्धनले आज तालमेलको टुङगो लगाउने



काठमाडौं २१ असोज । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले तालमेल र सिट संख्या टुङ्गो लगाउने भएको छ । कांग्रेस सहित संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको सिट संख्या बाँडफाँटको टुंगो आज साँझसम्म लगाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बिहान र साँझ गरी दुई पटक बसेको कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको कार्यदलको बैठकले दुई पक्षीय र बहुपक्षीय छलफल गरेर शनिबारसम्म प्रत्यक्षतर्फको सिट संख्या टुंगो लगाउने समझदारी गरेको हो ।

कार्यदलले अन्य दलसँग समेत चुनावी तालमेलका लागि ढोका खुला राख्दै उनीहरूलाई पनि समेट्ने प्रयत्न जारी राख्ने निर्णय गरेको छ । त्यस्तै, कार्यदलले निर्वाचनमा ६ राजनीतिक दलहरु किन तालमेल गरेर अघि जानुप¥यो भन्ने विषयमा साझा अवधारणा तयार पार्नेछ । निर्वाचनका लागि ६ दलका तर्फबाट साझा न्यूनतम कार्यक्रम ल्याउने निर्णय कार्यदलले गरेको छ । कार्यदलको निर्णयअनुसार कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका कार्यदल सदस्य मीनेन्द्र रिजालसहितका नेताले आज साँझ ५ बजे बस्ने बैठकमा न्यूनतम साझा कार्यक्रमका साथै साझा अवधारणाको मस्यौदा पेस गर्नेछन् । त्यसलाई कार्यदलको बैठकले थपघट गरेर अन्तिम रूप दिने सहमति भएको एक सदस्यले जानकारी दिए ।

बैठकमा कांग्रेसतर्फका कार्यदल सदस्यहरूले प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्न सरकारको स्थायित्व आवश्यक रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, राजपा र संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । संघीय फोरम नेपालका प्रतिनिधिले प्रधानमन्त्री निर्वाचनमै आफ्नो दलले मतदान गरेको दाबी गर्दै सरकारलाई समर्थन कायमै रहेको बताएका थिए । कार्यदलमा कांग्रेसबाट निधि, रिजाल र पूर्णबहादुर खड्का, राप्रपाबाट बुद्धिमान तामाङ, संघीय समाजवादी फोरमबाट रामसहाय यादव, राप्रपा प्रजातान्त्रिकबाट विक्रम पाण्डे, राजपाबाट सर्वेन्द्रनाथ शुक्ल र फोरम लोकतान्त्रिकबाट गोपाल दहित सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्