Logo

कांग्रेसलाई एमाले–माओवादीको चेतावनी : ‘चुनाव प्रभावित हुने गतिविधि नहोस्’



काठमाडौं २२ असोज ।
चुनावी तालमेलसहित एकता प्रक्रियामा जुटेका एमाले र माओवादी केन्द्रले बामपन्थी गठबन्धनबाट नअत्तालिन र चुनाव प्रभावित हुने गतिविधि नगर्न कांग्रेसलाई चेतावनी दिएका छन् । कांग्रेसले लोकतन्त्र नै खतरामा परेको र मुलुकमा अधिनायकवादी व्यवस्था ल्याउने प्रयासको रुपमा बामपन्थी गठबन्धनप्रति टिप्पणी गरेपछि दुबै दलले उसलाई जवाफ दिएका हुन् । एमाले र माओवादी केन्द्र दुबैको शनिबार बसेको छुट्टाछुट्टै बैठकमा कांग्रेसले गरेको टिप्पणीमाथि समिक्षा भएका थिए ।

गठबन्धन बनाउने सहमतिपछिको अवस्थाबारे समिक्षा गर्न शनिबार एमाले स्थायी समिति र माओवादी केन्द्रको संसदीय दल एवं पोलिट व्यूरोका बैठक बसेका थिए ।

एमाले बैठकले कांग्रेसबाट आएको टिप्पणी उत्तेजक र अराजनीतिक खालको भएको भन्दै यही बहानामा चुनाव प्रभावित हुने खालका गतिविधि नगर्न चेतावनी दिएको छ । ‘काग्रेस अत्तालिएको जस्तो गरेर अनुचित टिप्पणी गरिरहेको छ’ बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले भने,‘लोकतन्त्र नै खतरामा पर्‍यो भन्ने ढंगको टिप्पणी गर्नु आपत्तिजनक छ र यही बहानामा चुनावलाई अन्योल पार्ने खालका गतिविधि नहोस् भन्ने हाम्रो बैठकको निष्कर्ष छ ।’ विकास र समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक पर्ने र त्यही बाटोमा जाने प्रयासस्वरुप एकता प्रक्रियामा अघि बढेको उल्लेख गर्दै एमालेले यसलाई अनिष्ठको संकेतको रुपमा टिप्पणी गर्नु हतास मानसिकताको उपज भएको ठहर गरेको छ ।

माओवादीको संसदीय दल र पोलिटब्यूरो बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पनि कांग्रेसबाट आएको टिप्पणीप्रति आपत्ति जनाउँदै गठबन्धन कसैका विरुद्ध नभएको बताए । ‘हाम्रो समिकरण कसैका विरुद्ध होइन, बैचारिक रुपमा एउटै धारमा रहेका दल मिल्दा नै मुलुकको हित हुन्छ’ अध्यक्ष दाहालले पोलिटब्यूरो बैठकमा भने,‘एमाले–माओवादी एकताले तत्काल न त साम्यवादी व्यवस्था आउने हो न अधिनायकवादी व्यवस्था नै ।’ शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाबाटै अघि बढ्ने उल्लेख गर्दै दाहालले यसमा कुनै भ्रम नराख्न आग्रह गरे ।

बामपन्थी गठबन्धनप्रति आलोचनात्मक टिप्पणी गरेकाले काँग्रेसबाट चुनाव प्रभावित पार्ने गतिविधि हुने हो कि भन्ने आशंका माओवादी बैठकमा नेताहरुले व्यक्त गरेका थिए । संसदीय दल र पोलिटब्यूरो दुबै बैठकमा अध्यक्ष दाहालले सरकारलाई दिएको समर्थन कायमै राख्ने जानकारी आफूले प्रधानमन्त्रीले दिएको उल्लेख गर्दै यसभन्दा अन्यथा ढंगबाट अघि नबढ्न चेतावनी दिएका थिए ।

‘हामी सरकार ढाल्न चाहदैनौं, हामीले दिएको समर्थन जारी छ, यही सरकारले चुनाव गराउनुपर्छ’ अध्यक्ष दाहालले भने,‘यसभन्दा अन्यथा ढंगबाट जानु हुँदैन ।’ काग्रेस बृत्तभित्र माओवादीले विपक्षी दलसँग गठबन्धन गरेपछि उसका मन्त्रीहरुलाई हटाएर आफू अनुकूल मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने बहस पनि चलिरहेको छ । यही बहसलाई लक्षित गर्दै एमाले स्थायी समिति बैठकले पनि सरकार परिवर्तन गर्ने, चुनावलाई अप्ठेरो पार्ने गतिविधि नगर्न चेतावनी दिएको छ । निर्वाचन प्रक्रिया अघि बढीसकेको सन्दर्भमा मन्त्रिहरु हटाउने, नयाँ मन्त्री नियुक्ति गर्ने लगायतका काम हुन नसक्ने भन्दै एमालेले निर्वाचनको आधारभूत मुल्यमान्यताको ख्याल गर्न कांग्रेसलाई भनेको छ ।

दुबै दलका बैठकले गत साता भएको सहमति अनुमोदन गर्दै त्यस अनुसारको प्रक्रिया विथोल्ने र कमजोर पार्ने गतिविधि नगर्न आफना कार्यकर्तापंक्तिलाई सजग बनाउने निर्णय गरेका छन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्