Logo

ओखलढुंगाका समाजसेवीद्वारा खोटाङको विद्यालयमा अक्षयकोष



खोटाङ, २४ असोज। ओखलढुंगाका एक समाजसेवी मानबहादुर राईले खोटाङको एक विद्यालयमा अक्षयकोष स्थापनाका लागि रकम प्रदान गर्नुभएको छ ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–१ का राईले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा जयरामघाटमा सञ्चालित दूधकोशी आधारभूत विद्यालयमा अक्षयकोष स्थापनाका लागि नगद रु एक लाख प्रदान गर्नुभएको हो ।

बाल्यकालमा सोही विद्यालयमा अध्ययन गर्नुभएका राईले आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविलाल राईको हातमा नगद हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ ।

प्राप्त रकम राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर जम्मा गरिने र ब्याजबाट आएको रकमले विद्यालयमा अध्ययनरत छात्राछात्रलाई वार्षिकरुपमा छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय गानका सर्जक प्रदीपकुमार राई ब्याकुल माइला, हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राई र उपप्रमुख विमला राईलगायतको उपस्थिति रहेको थियो । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने जयरामघाटस्थित उक्त विद्यालयमा राज्यको नजर नपुगेको स्थानीयवासीले गुनासो गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्