Logo

एमालेका प्रमुख नेता प्रत्यक्षमै



काठमाडौं २५ असोज ।
प्रमुख विपक्षी एमाले अध्यक्षसहित प्रमुख नेताहरू प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन् । एमालेसहित वाम तालमेलको पक्षमा माहोल बनाउन पार्टी अध्यक्ष, वरिष्ठ नेतासहित पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोका प्रभावशाली नेताहरूलाई प्रत्यक्षमा उठाउने टुंगो मंगलबार एमाले स्थायी समिति बैठकले यससम्बन्धी निर्णय गरेको पार्टी सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टीले आगामी मंसिर १० र २१ गते हुन लागेको चुनाव आलटाल गर्ने, सार्ने वा प्रभावित गर्ने कुनै पनि गतिविधि नगर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।

अध्यक्ष केपी ओलीले पछिल्लो समय एमाले, माओवादी केन्द्रसहित वाम तालमेल भएपछि केही पक्ष अत्तालिएकाले त्यसतर्फ सतर्क हुनुपर्ने बताएका थिए । साथै पार्टीको वर्चस्व कायम राख्नका लागि सबै प्रभावशाली नेताहरू प्रत्यक्षमै उठ्नुपर्ने धारणा राखेका थिए । ‘अध्यक्ष, पदाधिकारीसहितका नेताहरू प्रत्यक्षमै उठ्ने विषयमा सहमति जुटेको छ । यसले चुनावी महोल बढाउन मद्दत समेत पुर्‍याउनेछ,’ नेता ज्ञवालीले भने । एमालेमा अध्यक्ष, २ वरिष्ठ नेता, ४ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव र ५ सचिव छन् ।

पार्टी अध्यक्ष केपी ओली झापा ५ बाट उठ्ने करिब पक्का छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल इलाम १ र माधव नेपाल काठमाडौं २ बाट प्रत्यक्षमै सर्वसम्मत सिफारिस भएका छन् । उपाध्यक्षहरू वामदेव गौतम बर्दिया १, अष्टलक्ष्मी शाक्य काठमाडौं ९, युवराज ज्ञवाली दाङ ३, भीम रावल अछाम १ बाट चुनाव लडदै छन् । महासचिव ईश्वर पोखरेल काठमाडौं ५ बाट प्रत्यक्षका उम्मेदवार हुनेछन् । उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल दुवै रूपन्देहीबाट प्रत्यक्षमा चुनाव उठदैछन् ।

एमालेका पाँचै सचिव प्रत्यक्षतर्फका उम्मेदवार हुनेछन् । सचिवहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्ट गुल्मीबाट, पृथ्वी सुब्बा गुरुङ लमजुङ, भीम आचार्य सुनसरी र योगेश भट्टराई ताप्लेजुङबाट उठदै छन् । आचार्यको भने प्रदेशसभातर्फ प्रत्यक्षमा सम्भावना रहेको नेताले जनाएका छन् ।

स्थायी समिति सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङ इलाम २ बाट सर्वसम्मत सिफारिस भएका छन् । स्थायी समिति सदस्यहरू शंकर पोखरेल दाङ २, सुरेन्द्र पाण्डे चितवन १ बाट प्रत्यक्ष उम्मेदवार हुनेछन् । बैठकले अध्यक्ष ओलीको कमान्डमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव परिचालन गरिने निर्णयसमेत गरेको छ । प्राय: सबै पदाधिकारी चुनावमा केन्द्रित हुनुपरेकाले ओलीकै कमान्डमा चुनावमा जाने तयारी एमालेले गरेको हो ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्