Logo

इमान गुमाउँदै राजनीति



एमालेले गुन्डा नाइकेका रूपमा चिनिने दीपक मनाङे (राजीव गुरुङ) लाई प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस गरेपछि पूर्व अर्थसचिव रामेश्वर खनालले व्यङग्यात्मक टिवट गरे, ‘नेपाली बामपन्थी आन्दोलनका अग्रणी नेता, द्वन्द्वात्मक भौतिकबादका प्रखर व्याख्याता मनाङबाट प्रदेशसभा निर्वाचनमा सर्वसम्मत उम्मेदवार सिफारिस ।’

 स्थानीय तहको पहिलो चरण निर्वाचनअघि काठमाडौं प्रहरीले गुण्डा पृष्ठभूमीका केही व्यक्तीलाई पक्राउ गर्‍यो । त्यही हुलमा थिए– लामो समयदेखि गुण्डागर्दी, अवैध असुली र अकुत सम्पत्ती आर्जनको आरोप झेलेका मनाङे पनि । उनलाई जिल्ला प्रशासनंले ५ दिन थुनामा राख्न अनुमती दिएको थियो । स्थानिय तहको चुनाव सकिएलगत्तै आएको प्रदेशस्तरीय निर्वाचनमा अन्तत: उनै मनाङे उम्मेवार हुने तरखरमा छन् ।
काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रमुख रमेश खरेलले उनलाई अवैध असुली र गुण्डागर्दीको आरोपमा पक्राउ गरेका थिए । त्यसयता काठमाडौं परिसरका प्रत्येक नयाँ प्रमुखले उनलाई पक्राउ गर्ने गरेका छन् । आपराधिक गतिविधी संचालन गर्दै अकुत सम्पत्ती आर्जन गरेको आरोपमा उनले सम्पत्ती शुद्धीकरण मुद्धा पनि खेपेका थिए । सम्पत्ती शुद्धिकरण विभागले उनीमाथी झण्डै १५ करोड अकुत सम्पत्ती आर्जन गरेको दाबी सहितको मुद्धा विशेष अदातलमा पेश गरेको थियो । २०७३ असार दोस्रो साता बिशेष अदालतका कर्मचारीलाई धम्की दिएको आरोपमा पक्राउ परेका उनलाई गत भदौमा अकुत सम्पत्ती आर्जनको मुद्धामा बिशेष अदालतले नै सफाइ दियो ।
मूलधारको राजनीति गरिरहेका दलहरुका निम्ती मनाङे जस्ता पात्रको चयन नौलो विषय होइन । राजनीतिमा अपराधीकरण वा अपराधको राजनीतिकरण पछिल्ला वर्षहरुमा सघन देखिदै गएको छ । समाजशास्त्री चैतन्य मिश्र उम्मेदवारका रुपमा मनाङेको सिफारिसबाट उति धेरै चकित छैनन् । मिश्रको बुझाइमा समग्र नेपाली राजनीतिको भ्रष्टीकरणको उदाहरण दिन मनाङेको उदाहरणसम्म पुग्नै पर्दैन ।

‘धमिलो राजनीति र त्यसैको बलमा तैरीरहेको अनैतिकतालाई नियाल्यो भने धेरै कुरा आफै बुझिन्छ’, मिश्र भन्छन्, ‘राजनीतिको मुल्य बुझ्न दलहरुले विगतका दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका रुपमा लोकमानसिंह कार्कीलाई गरेको सिफारिस, प्रधानन्यायधिश सुशिला कार्कीमाथी लगाइएको महाअभियोग र डा. गोविन्द केसीका मागप्रति दलहरुको भूमिका हेरे पुग्छ ।’ उनले प्रश्न गरे, ‘राजनीतिमा कती नैतिकता छ भन्ने बुझ्न यि घटना काफी छैनन र ? गुण्डागर्दी मात्रै अपराध हो ? सामाजीक र नैतिक विषयमा दलहरुको भूमीका गुण्डागर्दीको भन्दा कम छ र ?’

भ्रष्टाचारको आरोपमा सजाय खेपेका र दलको साधारण सदस्य समेत हुन अयोग्य खुमबहादुर खडकालाई नेपाली काँग्रेसले चुनावमा टिकट बाड्ने महत्वपुर्ण समितिमा मनोनयन गरेको पछिल्लो दृष्टान्त पनि उम्मेदवारमा मनाङेको सिफारिसभन्दा कम होइन । नैतिकताको कसीमा मात्रै होइन, प्रचलित कानूनी प्रावधानलाई समेत कुल्चिदै प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापती शेरबहादुर देउवाले खडकालाई चुनावको टिकट बाड्ने समीतिमा राखेका छन् । समाजशास्त्री मिश्र राजनीतिक, नैतिक र कानूनी रुपमा पतन भईसक्दा पनि खुमबहादुर पार्टीभित्र प्रभावशाली भएको देख्दा अचम्म मान्छन् । उनले भने, ‘यो त प्रवृत्ति मात्रै हो । यसले काँग्रेस जस्तो पार्टीको हैसियत कहाँ पुगेछ भनेर देखाउँछ । विपीको बेलाको कांग्रेससँग तुलना गर्दा पार्टी कहाँ देखिन्छ होला ?’

काँग्रेसको जिल्ला कार्यसमीति प्युठानले प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर २ बाट रोज राणासहित ३ जनाको नाम सिफारिस गरेको छ । प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका विवादास्पद छवीका राणाको नाम सिफारिसको पहिलो नम्बरमा राखिएको छ । काठमाडौंको दरबारमार्ग क्षेत्रमा क्यासिनो व्यवसायमा समेत सक्रिय राणाविरुद्ध असुली र लेनदेनका थुपै्र मुद्धा छन् ।

एमालेले मोरङ ६ बाट प्रदेशसभाको प्रत्यक्ष उम्मेदवारमा परशुराम बस्नेतलाई सिफारिस गरेको छ । उनीमाथि अकुत सम्पत्ती आर्जनको मुद्धा चलीरहेको छ । उनीविरुद्ध अपहरण र जर्वजस्ती असुलीका मुद्धाहरु छन् । अवैधरुपमा रकम आर्जन गरेको अभियोगमा २०७० जेठ ५ मा सम्पत्ती शुद्धिकरण अनुसन्धन विभागले बस्नेतविरुद्ध बिशेष अदालतमा मुद्धा दायर गरेको थियो । अभियोगपत्रमा उनले आर्जन गरेको सम्पत्ती ठेक्कापट्टाको कमिसन, ब्यापारीहरुबाट असुली, तस्करीको कमिसनलगायत रहेको दाबी गरिएको छ । बस्नेतले अकुत रुपमा ११ करोड ६१ लाख ४१ हजार रुपैया आर्जन गरेको दाबी गरिएको उक्त मुद्धा विचाराधीन छ ।

मुल्य, मान्यता र सिद्धान्तको राजनीतिबारे लेख्ने र बोल्ने गर्दै आएका एमाले नेता घनश्याम भुषाललाई एमालेले उम्मेदवारका रुपमा सिफारिस गरेका मनाङे र बस्नेतको नाम लिदै सोधियो, यस्ता व्यक्तीहरुलाई एमालेले उम्मेदवारका रुपमा अघि सारेको देख्दा कस्तो लाग्यो ? प्रश्न सुनेर उनी केही बेर चुप रहे अनि भने, ‘यस्ता कुरा सुनेर त म निस्सासिन्छु । कहिलेकाही अब राजनीति पनि गर्ने कि नगर्ने भन्ने विन्दुमा पुग्छु ।’

भुषालको बुझाइमा पछिल्लो समय राजनीतिबाट नैतिकता र मुल्य मान्यता हराइसक्यो । उनले भने, ‘राजनीतिक बजारमा पसेर जसले तरक्की गर्न सक्छ उ नै नेता हुने भइसक्यो । यस्तो बजारले विचारधारा र आर्दश भन्ने हेर्दैन । जसले ठेलमठेल गर्न सक्छ । जसले नेताको आदेश टिप्न सक्छ र ठेलमलेपछि आर्जित शक्ती अर्थात पैसा जसले जम्मा गर्न सक्छ उ नै नेता हुन्छ ।’ भुषालले राजनीतिमा आपराधिक पृष्ठभूमीका व्यक्तीहरुको प्रवेशलाई दलाल पुंजीबादको विकृत रुपका रुपमा अथ्र्याए ।

समाजशास्त्री मिश्रको बुझाइमा दलीयकरणलाई बलियो बनाउन र आफ्ना कार्यकर्ताको स्वार्थ पुरा गर्न दलहरु जस्तोसुकै मुल्य चुकाउन तयार देखिन्छन् । मिश्रले अस्थायी शिक्षकहरुलाई सोझै स्थायी बनाउने र प्रतिस्पर्धाबाट शिक्षक छनौट गर्नै नपर्ने गरी दलहरुले गरेको नीतिगत निर्णय पनि राजनीतिक भ्रष्टीकरणको सबैभन्दा ठुलो उदाहरण भएको बताए । उनले भने, ‘राजनीतिमा अपराधीकरणको यसभन्दा ठूलो उदाहरण के हुन्छ ?’

राजनीतिशास्त्री कृष्ण खनाल पनि देखिने खालको गुण्डागर्दी, फिरौती असुली, ठेक्कापट्टामा हुने कमिसनलाई मात्रै अपराध मान्न नहुने तर्क गर्छन् । ‘अपराध भनेको हिंसा मात्रै होइन’, उनले भने, ‘पछिल्ला दिनमा संसदले पारित गरेका विधेयकहरुमा कसरी सांसदहरुकै आर्थिक स्वार्थ हावी भएको छ ? के त्यो पनि राजनीतिका नाममा गरिएको अपराध हैन ?’ खनालको बुझाइमा संसदमा देखिएको स्वार्थहरुको टकराव, शिक्षा जस्तो विषयमाथी भईरहेको व्यवसायीकरणमा दलहरुको संग्लनता अनैतिक राजनीतिको सबैभन्दा ठुलो उदाहरण हो । कान्तितपुरबाट



प्रतिक्रिया दिनुहोस्