Logo

सांसदहरुलाई संसद सचिवालयको एसएमएस, जिन्सी सुविधा फिर्ता गर्दै सांसदहरु



काठमाडौं २८ असोज । चुनावी गठबन्धनमा व्यस्त एमाले सांसद रेवतीरमण भण्डारी हतारमा सुनसरीबाट काठमाडौं आए । संसदको अन्तिम बैठकमा सहभागी हुन आएका उनले संसद सचिवालयबाट पाएको सुविधा बुझाउने काम पनि गरे ।

‘रातो पासपोर्ट लिएको थिएँ, कार्यकाल सकिने भएपछि त्यो बुझाएको छु, अब थप चुनावी तयारीका लागि भोलि नै जिल्ला फर्कन्छु,’ उनले भने ।

संविधानसभा–२ का लागि निर्वाचित सभासद रुपान्तरित संसद भएपछि सांसद भएका थिए । सबैजसो सांसदले अन्तिम बैठकमा भाग लिने क्रममा सचिवालयबाट लिएको सुविधा बुझाउन थालेका हुन् ।

संसद सचिवालयले पनि सांसदलाई एसएमएसमार्फत सुविधाका रुपमा प्राप्त जिन्सी र अन्य सामान बुझाउन आग्रह गरेको थियो । ‘संसद सचिवालयबाट जिन्सीलगायत सामान लिनु भएका माननीयज्यूहरुले स्टोरमा फिर्ता गरिदिनु हुन अनुरोध छ,’ सांसदलाई पठाइएको एसएमएसमा उल्लेख छ ।

एसएमएस पाएपछि शुक्रबार कम्तीमा २ दर्जन सांसदले सुविधा फिर्ता गरेका हुन् । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्