Logo

८८ केजी सुन तस्करीको आरोपमा तामाङ पक्राउ



काठमाडौं ३१ असोज ।
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले ८८ केजी सुन तस्करीमा मुख्य भूमिका निर्वाह गरेको आरोपमा मानबहादुर तामाङलाई पक्राउ परेको छ । उनी रसुवा कांग्रेसबाट प्रदेशसभामा क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका व्यक्ति हुन् ।

सुन ओसारपसारमा यसअघि नै पक्राउ परेकाहरूले सुन ल्याउने काममा तामाङले मुख्य भूमिका निर्वाह गरेको बताएपछि तामाङलाई स्वयम्भूबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । तामाङ नेपाल–चीन केरुङ व्यापार संघका अध्यक्षसमेत हुन् । उनको अस्वाभाविक सम्पत्ति छानबिनका लागि समेत प्रहरीले अनुसन्धान गर्ने जनाएको छ । प्रहरीका अनुसार तामाङ सुनका मुख्य मालिक भनिएका चिनियाँ नागरिक पान वई मिङ र यान बेङ विङसँग नजिक थिए ।

स्रोतका अनुसार चीनबाट पठाइएको सुन तामाङले काठमाडौं र भारतीय बजारसम्म पुर्‍याउने चाँजो मिलाउँथे । एक दशकअघिसम्म सामान्य आर्थिक हैसियतका तामाङको उक्लिँदो आर्थिक हैसियत देखेर उनकै गाउँलेसमेत चकित पर्थे । रसुवाको पार्वतीकुण्ड गाउँपालिका ४ स्थायी घर भएका तामाङ दशकअघि काठमाडौंको बालाजुमा रेडियोटिभी मर्मतको काम गर्थे ।

२०७२ मा भएको कांग्रेसको १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्न दौडधुप गरे पनि असफल भएका थिए । राजनीतिक रुपमा प्रभावशाली नेतासँग संगत बढाएका तामाङ जिल्लामा आउने सबैजसो उच्च ओहोदाका सरकारी अधिकारीसँग नजिकको सम्बन्ध राख्न भ्याइहाल्थे । उनी जिल्लाका हरेक कार्यक्रममा विशेष अतिथिसमेत हुने गरेको स्रोतले जनायो । कतिसम्म भने २०७३ मा उनले सशस्त्र प्रहरीका तत्कालीन डीएसपी दर्शन गिरीको बिदाइमा २० केजीको फूलको माला लगाएर सम्मान गरेका थिए । प्रहरी स्रोतका अनुसार यसरी सबैसँग गतिलो सम्बन्ध विस्तारको आवरणमा तामाङले अवैध सुन नेपाल भित्र्याउने धन्दा चलाइरहेका थिए ।

काठमाडौंको ठहिटीमा ट्राभल्स एन्ड टुर्स व्यवसाय चलाएका तामाङको १० वटा स्करपियो गाडी छन् । स्रोतको भनाइमा एक चिनियाँ व्यापारीसँगको साझेदारीमा उनले उक्त व्यवसाय सुरु गरेका थिए । ल्हासा, सिगात्से र केरुङसम्म पुग्न टुर्सले गाडी उपलब्ध गराउँथ्यो ।

स्रोतका अनुसार २७ वैशाखमा काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै चीन जान लागेको स्करपियो गाडीबाट बरामद ४ करोड ७५ लाख रुपैयाँ अवैध विदेशी मुद्रासहित पाँच चिनियाँ नागरिक पक्राउको घटनामा पनि तामाङ जोडिएको थिए । स्रोत भन्छ– उक्त परिमाणको रकम चीन लैजान तामाङकै गाडी प्रयोग गरिएको थियो । महाशाखाले १९ भदौको बिहान क्षेत्रपाटीबाट ८८ केजी सुनसहितको गाडी र त्यसका चालक मनोज अधिकारीलाई पक्राउ गरेपछि ठूलो परिमाणमा सुन तस्करीको घटना सतहमा आएको थियो । अधिकारी पक्राउ परेलगत्तै प्रहरीले उक्त गाडी चलाएको आरोपमा रसुवाबाट दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

४ असोजमा भने महाशाखाले तस्करीको सुन किनबेचमा संलग्न आरोपमा काठमाडौंबाट पाँच जना सुन व्यवसायीलाई पक्राउ गरेको थियो । काठमाडौंको रञ्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका गणेशदत्त बडू, नरदेवीस्थित रविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको सिद्धनाथ सुनचाँदी खार्नीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्गले पक्राउ परेका थिए ।

प्रहरीका अनुसार उनीहरु पाँचै जना तस्करीको सुन किन्ने र खार्ने काममा संलग्न थिए । पक्राउ परेकामध्ये कार्यविनायक सुनचाँदी पसलका सञ्चालक बडू भने जडीबुटीको कारोबारीसमेत हुन् । बडूले बहुमूल्य मानिने यार्सागुम्बा तिब्बती व्यापारीलाई बेच्ने र त्यसबापतको रकम सुनबाट बुझ्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्