Logo

तिहारलाई ३० करोडको फलफूल आयात



काठमाडौं ३ कात्तिक ।
तिहारलाई लक्षित गरी फलफूल थोक व्यवसायी संघले करिब ३० करोड रुपैयाँको फलफूल आयात गरेका छन् । व्यवसायीले स्याउ र केरासहित विभिन्न फलफूल झन्डै ३० अर्ब रुपैयाँँ बराबरको आयात गरेका हुन् । यसमध्ये केही आयात भइसकेका र केही आउने क्रममा रहेको संघले जनाएको छ । संघका महासचिव विनोद पाण्डेका अनुसार चीन र भारत गरी १ सय ८० ट्रक स्याउ आयात भइरहेको छ । एक ट्रकमा १० टन स्याउ हुन्छ । जसअनुसार तिहारलाई लक्षित गरी १८ सय टन (प्रतिकिलो १ सय २० रुपैयाँँको दरले २१ करोड ६० लाख रुपैयाँँको) स्याउ आयात भएको जनाएको छ । स्याउ मुख्यत: तिहारमा बिक्री हुन्छ । मुलुकभित्र पर्याप्त मात्रामा उत्पान नहुनु, फाट्टफुट्ट उत्पादन भएपनि व्यावसायिक रूपमा बजारको पहुँचसम्म नहुनुने फलफूलमा चीन र भारतकै भर पर्नुपरेको छ । ‘नेपालमा मुस्ताङ, हुम्ला र मुगुमा उत्पादन भए पनि उपत्यकामा नगन्य रूपमा भित्रिन्छ,’ पाण्डेले भने, ‘माग पूर्ति गर्न चीन र भारतकै भर पर्नुपर्छ ।’

उनका अनुसार चीनबाट १ सय ५० ट्रक र भारतबाट ३० ट्रक स्याउ आयात भएको छ । असोज २९ गतेदेखि दैनिक २५/३० ट्रक भित्रिएको छ । पाण्डेका अनुसार १८ सय टन लक्ष्मीपूजाको दिनसम्म आयात भई टीकाको दिनसम्म सबै बिक्री हुन्छ । ‘असोज २९ गतेबाट आयात सुरु गरेका छौं । कात्तिक २ गते लक्ष्मीपूजाको दिनसम्म स्याउ आइपुग्छ भन्ने हो । केही बाटैमा छ,’ उनले भने, ‘आयतित स्याउ भाइटीकाको दिनसम्मा सकिन्छ ।’

 

आयातित स्याउ बल्खुबाट व्यवसायीले खरिद गरी मुलुकभरि खुद्रा मूल्यमा बिक्री गरिन्छ । संघका अनुसार तिहारसँगै होलसेल बजारमा करिब ६० प्रतिशतले माग बढेको छ । माग बढेसँगै आयात पनि बढाएको उनले बताए । ‘सामान्य दिनमा दैनिक ५/६ ट्रक स्याउ आयात हुन्छ । अहिले दैनिक २५/३० ट्रक भित्राएका छौं,’ उनले भने । तिहारलगत्तै छठ पर्व सुरु हुन्छ । त्यस बेला पनि माग वृद्धि हुने संघले जनाएको छ । तिहारमा स्याउसँगै केराको माग पनि उत्तिकै बढ्छ । संघले केरा भारतबाट आयात गर्ने गरेको छ । तिहारका लागि भारतबाट मात्रै १ सय ५० ट्रक (१५ सय टन) केरा आयात भएको पाण्डेले बताए । एक दर्जनको ६० रुपैयाँँको दरले ९ करोड रुपैयाँँको आयात हुने जनाएको छ ।

होलसेल व्यवसायीले पनि तिहारको अवसरमा व्यापारमा धेरै सुधार भएको बताउँछन् । ‘दसैंमा व्यापार सन्तोषजनक थियो,’ बल्खु फलफूल बजारका व्यवसायी मीनप्रसाद गौतमले भने, ‘तिहारमा धेरै राम्रो भएको छ ।’ स्याउहरू समयमै आएकाले पनि व्यापार बढेको उनको भनाइ छ । सुन्तला, मौसम र मुख्यत: स्याउको व्यापार हवात्तै बढेको उनले बताए । अर्का होलसेल व्यवसायी रामचन्द्र कार्कीको भनाइ पनि उस्तै छ । उनले सामान्य दिनको तुलनामा दोब्बर नै बिक्री भएको बताए । ‘अन्य दिनमा दैनिक ५ सय कार्टुन बिक्री हुने स्याउ अहिले १ हजार कार्टुन नाघेको छ,’ उनले भने । बल्खु फलफूल बजारमा करिब ४ सय व्यवसायी छन् । बल्खु फलफूल बजारसँगै कालिमाटी तरकारी बजारको व्यापार पनि उत्साहजक रूपमा वृद्धि भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपसचिव एवं सूचना अधिकारी विनय श्रेष्ठले फलफूलको कारोबार दोब्बर नै भएको बताए । ‘यहाँका व्यवसायीहरूले बल्खु फलफूल बजारबाट ल्याएर बिक्री गर्छन्,’ उनले भने, ‘सामान्य दिनको तुलनामा कारोबार धेरै बढेको छ ।’

कालिमाटी तरकारी बजारका होलसेल व्यापारी भरत खनालले दैनिक ७०० कार्टुन स्याउ बिक्री भएको बताए । ‘स्याउ मुख्यत: तिहारमै बिक्री हुन्छ,’ उनले भने, ‘सामान्य दिनमा १ सय कार्टुन बिक्री हुने स्याउ अहिले ६/७ सय कार्टुन पुगेको छ ।’ संघका अनुसार अघिल्लो वर्षको तुलनामा फलफूलको मूल्य सस्तो भएको छ । गत वर्ष प्रतिकिलो ९० देखि १ सय रुपैयाँँ (होलसेल मूल्य) पर्ने मिठो स्याउको मूल्य ८० देखि ९० रुपैयाँँ पर्छ । फुजी स्याउको मूल्य पनि प्रतिकिलो २५ रुपैयाँँ घटेको संघको दाबी छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्