राजविराज, ९ कार्तिक । छठपर्व मनाउनका लागि सप्तरीका विभिन्न जलाशयलाई विहानैदेखि सजाउने कार्य भइरहेको छ । छठपर्व शुरु हुनुअघि नै सप्तरीको राजविराजसहित जिल्लाको विभिन्न तालतलाउ, खोला र नदीमा आज सरसफाइ गर्दै पूजाघाट बनाउने कार्य तीव्ररुपमा भइरहेको छ ।
सप्तरीको सदरमुकाम राजविराजमा रहेको कल्टु पोखरी, तुरुन्ती र भगवती पोखरीसहितका पोखरीमा वर्षौंदेखि थुपारिएको फोहरलाई सफा गरी आज बेलुकी अस्ताउँदो सूर्यको अर्घ दिनको लागि आज बिहानैदेखि घाटको सरसफाइ एवं घाट निर्माण कार्य तीव्ररुपमा भइरहेको राजविराज–३ का विजय रजकले बताउनुभयो ।
सफा गरिएको पोखरीमा कागज, केलाको बोट र अशोकको पात तथा विद्युतीय बत्तीबाट सजाउने कार्यसमेत भइरहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै सप्तरी र सुनसरीको सिमानामा पर्ने भारदहस्थित सप्तकोशी ब्यारेजमा पनि आज बिहानैदेखि सफाइ तथा सजाउने कार्य भइरहेको स्थानीय वीरेन्द्र प्रमाणीले जानकारी दिनुभयो ।
बिशेषगरी भारत सुपौल जिल्लाको वीरपुर र भीमनगरलगायत सप्तरी र सुनसरी जिल्लाका विभिन्न शहरका व्यक्ति छठपर्व मनाउनका लागि प्रत्येक वर्ष यहाँ आउने गर्छन् । छठ पर्व मनाउनका लागि कोशी ब्यारेजमा करिब एक किलोमिटरसम्म घाट निर्माण गरिएको बताइएको छ ।
परिवारको सुख, सुस्वास्थ्य, समृद्धि र शान्तिको कामनाका लागि मनाइने यो पर्व आज साँझ अस्ताउँदो र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन हुने छ ।
छठ सामग्रीको मूल्य बृद्धि
छठ पर्वमा प्रसादका रूपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसबाट निर्मित नाङ्लो, कोनियाँ र माटाका भाडाकुँडालगायतका सामानको मूल्य दोब्बरभन्दा बढीले बृद्धि भएकाले आमउपभोक्ता मारमा परेका छन् ।
यसको नियन्त्रणका लागि सम्बन्धित निकायले समेत कुनै चासो नदेखाएकाले व्यापारीलाई बढी फाइदा र उपभोक्तलाई घाटा भइरहेको बताइएको छ । रासस