Logo

विद्यालयलाई सात रोपनी जग्गा दान



पर्वत, १२ कार्तिक । पर्वतको एक दम्पतीले जमिन खरिद गरेर विद्यालयलाई दान दिनु भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं ४ क्याङ्गमा किरण पुन र युगमाया पुन दम्पतीले सात रोपनी जमिन खरिद गरेर स्थानीय बाजुङ्ग आधारभूत बिद्यालयलाई शुक्रबार दान दिनुभएको हो ।

पुन दम्पतीले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चामबहादुर पुन र प्रधानाध्यापक अमबहादुर पुनलाई सो जमिनको लालपूर्जा हस्तान्तरण गर्नुभयो ।

विद्यालयलाई भवन निर्माण र खेल मैदानका लागि आवश्यक परेको जमिन आफूले खरिद गरेर विद्यालयलाई दान दिएको किरण पुनले बताउनुभयो । पुनले सात रोपनी जमिन रु। ७ लाखमा गत वर्ष खरिद गर्नुभएको थियो ।

लामो समयदेखि रोजगारीका लागि बेल्जियममा बस्दै आएका पुन दम्पती कै पहलमा विद्यालयका लागि संकलन गरिएको रु दुई लाख ५० आर्थिक सहयोगको चेक पनि सोही कार्यक्रममा विद्यालय परिवारलाई हस्तान्तरण गरिएको छ ।

संकलित सहयोगलाई अक्षयकोषको रुपमा राखेर गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति बितरण गरिने विद्यालयका प्रअ अमबहादुरले जानकारी दिनुभयो ।

यसैगरी किरण पुन र युगमाया पुनले गएको वर्ष विद्यालयको खेलमैदान र मैदानमा प्याराफिट समेत निर्माण गरिदिनु भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्