काठमाडौं १४ कार्तिक ।
२०७४-अमेरिका प्रवेशको आसमा हवाई, जल र स्थलमार्ग हुँदै महिनौं लगाएर अमेरिका पुग्ने क्रम अझै रोकिएको छैन । अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू अझै पनि अमेरिका प्रवेश गर्ने अन्तिम विन्दुका रूपमा रहेको मेक्सिकोका विभिन्न क्षेत्रमा लुकीछिपी रहँदै आएका छन् ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएलगत्तै लिएको कडा अध्यागमन नीतिका कारण अलपत्र परेका ३ सय नेपालीमध्ये केही अझै मेक्सिकोमै छन् । बल्लतल्ल अमेरिका छिरेर चार महिनाको जेल बसाइपछि राहदानी बनाउन असोज पहिलो साता दूतावास आएकाहरूले मेक्सिकोमा अझै नेपाली अलपत्र रहेको जानकारी दिएका हुन् । तर मेक्सिको सरकारले भने आफ्नो देशको जेलमा कुनै पनि नेपाली नरहेको जानकारी नेपाली दूतावासलाई दिएको छ । ‘डीसीमा रहेको मेक्सिकोको दूतावासले यसै साता दिएको पत्रमा कुनै पनि नेपाली आफ्नो देशको जेलमा छैनन् भनिएको छ,’ नेपाली दूतावासका एक अधिकारीले भने ।
अमेरिकाको न्युयोर्कस्थित महावाणिज्य दूतावासमा चार नेपालीको व्यथा तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पनि सुने । आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै उनीहरूले महरालाई भने, ‘भविष्य राम्रो हुन्छ भनेर अमेरिका आएका हौं । दु:ख निकै पाइयो । धेरै पैसा खर्च भयो । दलालहरूले सुरुमा सपना बाँड्छन्, रकम पनि थोरै (२०/२५ लाख) भन्छन् अनि बीच बाटामा पुगेपछि माग गर्दै जान्छन्, सुरु रकमको दोब्बर बढी तिरिसक्यौं ।’
उनीहरू दाङ, नवलपरासी र कपिलवस्तुका हुन् । उनीहरूले आफूहरूले ४५ लाखभन्दा बढी खर्च गरेर आएको उल्लेख गर्दै आफ्नो नाम र तस्बिर सार्वजनिक नगर्न कान्तिपुरलाई आग्रह गरे । ‘दक्षिण अमेरिकी मुलुकको घना जंगल, समुद्र पार गर्दै ड्राइफुट र समुद्रकै पानी खाएर यहाँ आइपुगेका हौं,’ उनीहरूले भने, ‘कैयन् विदेशीले पनि आफूलाई नेपाली भनेर परिचय दिँदारहेछन् । तर हामी ९ जना मात्र थियांै । पाँच जना डीसीमा रहेको दूतावासमा धाइरहेका छन् । हामी न्युयोर्कमा आइपुग्यौं ।’
महराले उनीहरूको कुरा उभिएर सुन्दै भने, ‘यसमा हामीले के गर्न सक्छौं ?’ उनको जिज्ञासामा दूतावासका एक अधिकारीले भने, ‘प्रहरी प्रशासनले मात्र रोक्न सक्छ । आइपुगेकालाई अमेरिकी सरकारले बुझाएर फर्काउनु भनेको उनीहरूलाई मात्र होइन, घरपरिवारलाई समेत धोका दिनु हो । ७५ लाखसम्म खर्च गरेका भेटेका छौं । अरू काम उनीहरूले गर्लान्, हामी पासपोर्ट र डकुमेन्टमा सहयोग गरिदिन्छौं ।’
वासिङ्टन डीसीस्थित दूतावासमा पनि यस्ता धेरै नेपाली भेटिएका थिए । ‘राम्रै पढेका र बुझेकै नेपाली पनि यसरी आएको जानकारी दूतावासमा छ । समस्यामा परेका नेपालीलाई उद्धार गर्ने हो । अवैधानिक रूपमा आएकाहरूको खोजी गर्ने र बुझ्ने काम गरिरहेका छांै,’ राजदूत डा. अर्जुनकुमार कार्कीले कान्तिपुरसँग भने, ‘हामीले दक्षिण अमेरिकी मुलुक र अमेरिकासँग सम्पर्क गरेर नेपालीको अवस्था बुझ्ने, डाटा राख्ने र पीडितहरूको समस्या फुकाउने काम गरिरहेका छौं ।’ कार्कीले दक्षिण अमेरिकी मुलुकमा ओहदाको प्रमाणपत्र बुझाउन जाँदा पनि यो अवस्थाबारे बुझेका थिए । कान्तिपुरबाट