Logo

असिनाले धान नष्ट, लाखौँको क्षति



आठराई, तेह्रथुम, १६ कार्तिक । जिल्लाको छथर क्षेत्रमा थन्क्याउन लागेको धानबाली असिनाले नष्ट गरेको छ ।

कृषकले भित्र्याउन लागेको धानबालीमा क्षति हुँदा लाखौँ बराबरको नोक्सान भएको छ । सोमबार साँझ परेको असिनाले धानबाली चुट्दा १० लाखभन्दा बढीको क्षति भएको कृषकले बताएका छन् ।

जिल्लाका जिरीखिम्ती, अम्फुवा र छथर गाउँपालिकामा असिनाले लाखौँ बराबरको क्षति भएको कृषक लोकबहादुर अधिकारीले बताउनुभयो ।

म्याङलुङ नगरपालिकाको जिरीखिम्ती, अम्फुवा र छथर गाउँपालिकाको वडा नं १ र २ मा रहेका १०० भन्दा बढी कृषकको धानबालीमा क्षति भएको थियो । वर्ष दिनको कमाइ थन्क्याउन नपाउँदै असिनाले चुटेपछि कृषक चिन्तित बनेका छन् । करिब ३०० रोपनीमा रहेको खेतमा पाकेको धानमा क्षति भएको छ ।

खेतमा उब्जाएको अन्नले परिवार धान्दै आएका यामबहादुर कटुवाल भन्नुहुन्छ, “वर्ष दिनको कमाइ असिनाले लग्यो, परिवारलाई धान्न कठिन हुने भयो ।”

कृषकले खेतमा काटेर राखेको धान थन्क्याउन नपाइ असिनाले लगेको छ । खेतमा धान काटेर राखेरको थियो एक्कासि असिना पानी आयो, केहीदिनमा थन्क्याउने तयारीमा थियौँ, क्षणभरमै माटोमा धान मिल्यो, कृषक तेजबहादुर अधिकारीले दुखेसो गर्नुभयो ।

कृषकको धानबालीमा क्षति हुँदा लगानी माटोमा मिल्नुका साथै वर्ष दिनको कमाइ गुमाएका छन् । यसरी वर्ष दिनको कमाइ माटोमा मिल्दा किसान चिन्तित बनेको अधिकारीले बताउनुभयो ।  असिनाले धानखेतीमा क्षति पु¥याउँदा खाद्य संकट हुनसक्ने कृषि कार्यालय, तेह्रथुमले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्