म्याग्दी, १६ कार्तिक । जलजला गाउँपालिका–६ शालिजाका कृषकले उत्पादन गरेका तरकारी बजारीकरण गर्न समस्या भएको छ ।तरकारी खेतीलाई प्राथमिकता दिएका जलजलाका कृषकलाई यातायातको असुविधाका कारण समस्या भएको हो । उत्पादित तरकारी बजारसम्म ढुवानी गर्न समस्या भएको शालिजाका कृषक छवि भुसालले बताउनुभयो ।
“उचित मूल्य नपाउँदा दुःख र मेहनतअनुसारको आम्दानी हुन सकेको छैन”, चार रोपनीमा तरकारी खेती गरेका भुसालले भन्नुभयो, “बजार व्यवस्थापन नहुँदा कृषकको परिश्रम दुःखमा सीमित भएको छ ।”
बजार टाढा हुनु, यातायात सेवामा पहुँच नहुनु र सडकको कमजोर अवस्थाका कारण तरकारीको बजार व्यवस्थापनमा समस्या भएको हो । उत्पादन पर्याप्त मात्रामा भए पनि बजारको अभाव र उचित मूल्य नपाएको कृषकले बताएका छन् ।
शालिजामा आलु, बन्दागोभी, काउली, साग, मुला, गाजर, धनियाँ, गोलभेँडालगायत तरकारी खेती हुने गरेको छ । करिब १५० कृषक तरकारी खेतीमा आबद्ध छन् । सडक पुगे पनि यातायातका साधनमा पहुँच नहुँदा कतिपय कृषकले डोकोमै बोकेर तरकारी बजार पु¥याउन बाध्य छन् ।
गाडीबाट तरकारी बजार पु¥याउँदा कच्ची र जीर्ण अवस्थाको सडकका कारण तरकारीको भन्दा बढी ढुवानीमा खर्च हुने गरेको छ । कुश्मा, बागलुङ, बेनी र पोखरा शालिजाको तरकारीको बजार हो । सडक स्तरोन्नति गरी नियमित सवारी सञ्चालनको व्यवस्था मिलाउनुपर्ने कृषक केदारनाथ भुसालले बताउनुभयो ।
“टाढा र घुमाउरो बाटोमा ढुवानी गरेर बजार पु¥याएको तरकारीले अन्य ठाउँको तरकारीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेपछि मर्का परेको छ”, उहाँले भन्नुभयो, “सडक स्तरवृद्धि गरेर नियमित सवारीसाधन सञ्चालन भएपछि ढुवानीमा सुविधा हुने थियो ।” रासस