काठमाडौं १८ कार्तिक । तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार एवम् नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका पूर्वगृहमन्त्री एवम् नेता गोविन्दराज जोशीको उम्मेदवार गैरकानुनी तथा अयोग्य भएको भन्दै दाबी/विरोध गरेका छन् ।
तनहुँ १ बाटै नेता जोशीले पौडेलविरुद्ध बिहीबार स्वतन्त्र उम्मेदवारी दिएका थिए । नेता पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँढे चार बजे जोशीको उम्मेदवारीका बारेमा विरोध उजुरी दर्ता गरेको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । जोशीलाई विशेष अदालतले २०६९ साउन १० मा भ्रष्टाचारी ठहर गर्दै ४ करोड ३२ लाख बिगो र जरिवाना तथा डेढवर्ष कैद हुने फैसला गरेको थियो ।
उम्मेदवारी कानुनसम्मतै : जोशी
नेपाली कंग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी कानुन सम्मतै भएको दाबी गरेका छन् । कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलले भने जोशीको उम्मेदवारी कानुनसम्मत नभएकाले त्यो रद्द गरिपाऊँ भनी निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार निवेदन दर्ता गराएका छन् ।
विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएकाले उनको उम्मेदवारी निर्वाचन आयोगले रद्द गर्नु पर्ने भन्ने पौडेलको माग छ । जोशीले आफू अन्तिम अदालतबाट भष्टाचारी ठहर नभएको र कानूनले सुरु अदालतको फैसलाले रोक लगाउने व्यवस्था नराखेकाले उम्मेदवारी कानुन सम्मतै भएको जिकिर गरेका छन् । आफ्नो उम्मेदवारी अयोग्य भन्ने कानूनविदहरुको अभिव्यक्तप्रति पनि उनले कडा आपत्ति जनाएका छन् ।
‘भ्रष्टाचारसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधिन भएकाले समाचारमा उल्लेख भए अनुसार नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीको उम्मेदवारी गैरकानूनी भन्ने तर्क निराधार रहेको छ’ शुक्रबार कान्तिपुरमा प्रकाशित उनको उम्मेदवारीप्रति कानुनविदहरुको भनाइको खण्डन गर्दै विज्ञप्तीमार्फत् उनले भनेका छन् ।
निर्वाचन निर्देशिकामा भ्रष्टाचारलगायत फौजदारी अभियोग, नैतिक पतन देखिन अन्य फौजदारी कसूरमा सजायँ पाई वा कुनै कसूरमा जन्मकैद वा २० वर्ष वा सो भन्दा बढी सजायँ पाई त्यस्तो फैसला अन्तिम भएको’ व्यक्ति उम्मेदवार निम्ति अयोग्य हुने व्यवस्था छ ।