Logo

जोशीको उम्मेदवारी खारेज होला त ? १३ ‘घ’ को विवाद



काठमाडौं १८ कार्तिक । दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन कार्यालयमा उजुरी दर्ता भएका छन् । तनहुँ–१ को प्रतिनिधिसभा निर्वाचनका लागि मनोनय दर्ता गराएका कांग्रेस नेता रामचन्द्र पौडेलले सोही क्षेत्रमा उम्मेदवारी दर्ता गराएका गोविन्द्रराज जोशीविरुद्ध निर्वाचन ऐनको दफा १३ ‘घ’ अनुसार उम्मेदवारी रद्द गर्न माग गर्दै उजुरी दिएका छन् ।

आफ्नो उम्मेदवारी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन ऐनको १३ ‘घ’ अनुसार कुनै किसिमले खारेज नहुने तर्क जोशीको छ । तर सोही ऐन र निर्देशिकाअनुसार उनको उम्मेदवारी खारेज हुनुपर्ने कांग्रेस नेता पौडेलको दाबी छ । उनले आफ्नो जोशी विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएकाले उम्मेदवार बन्न नपाउने जिकिर गरेका छन् ।

यस्तै आफ्नो उम्मेदवारी प्रतिनिधि तथा प्रदेशसभा ऐन २०७४ को १३ ‘घ’ र निर्वाचन निर्देशिका २०७४ को दफा १८ (घ) ले नरोक्ने जोशीले दाबी गरेका छन् । निर्वाचन ऐनको दफा १३ को ‘घ’ मा ‘भ्रष्टाचार, जर्बजस्ती करणी, मानव बेचबिचन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैद सजाय पाई त्यस्तो फैसला अन्तिम भएको’ व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था छ ।जोशीले सोही बुँदालाई टेकेर आफ्नो भ्रष्टाचारसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले उम्मेदवारी गैरकानुनी हुने आधार नभएको बताएका छन् ।
कानुन व्यवसायीहरूले भने जोशीको मुद्दाको अन्तिम टुंगो नलागेकाले उनको उम्मेदवारी खारेज हुन नसक्ने तर्क पेस गरेका छन् । कानुन व्यवसायीका अनुसार जुनसुकै मुद्दाको अन्तिम टुंगो लाग्ने निकाय भनेको नै सर्वोच्च अदालत भएकाले जोशीको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेकाले उनलाइ उम्मेदवार बन्न बाटो खुला रहेको बताएका छन् ।

‘हामीकहाँ मुद्दाको अन्तिम हुने सर्वोच्चबाट नै हुने मानिएको छ,’ एक कानुन व्यवसायीले राजधानीसँग भने, ‘भ्रष्टाचारको मुद्दा विशेष अदालतले नै अन्तिम फैसला गर्ने हो भने सर्वोच्चमा पुनरावेदन जादैनथ्यो ।’ उनका अनुसार विशेष अदालतले फैसला सुनाए पनि सर्वोच्चमा पुनरावेदन मुद्दा चलेपछि विशेषको फैसलालाई अन्तिम मान्न मिल्दैन ।
‘यदि सर्वोच्चमा पुनरावेदन भएको मुद्दाले विशेषको फैसलालाई नै सदर गरेमा पद जान्छ नत्र अहिले उम्मेदवार बन्न रोकिँदैन,’ अर्का एक कानुन व्यवसायीले भने, ‘यदि यसरी मुद्दा चल्दैमा उम्मेदवार बन्न नपाउने भए दीपक मनाङे, गणेश लामालगायत पचासौं जनाको उम्मेदवारी रद्द हुनुपर्छ ।’

ललितपुर–१ मा वाम गठबन्धनका उम्मेदवार पूर्वडीआईजी नवराज सिलवालविरुद्ध पनि उजुरी परेको निर्वाचन अधिकृत सुरेश खनालले जानकारी दिए । उनका अनुसार सिलवालको डीआईजीबाट राजीनामा स्वीकृत नभएको र किर्ते कागज बनाएको विषयमा मुद्दा चलेकाले उम्मेदवार बन्न अयोग्य भएको भनी उजुरी परेको हो ।
यस्तै सुनसरी–२ ‘क’ का उम्मेदवार हेमकर्ण पौडलमाथि पनि उजुरी परेको छ । कांग्रेस उम्मेदवार हेमकर्ण पौडेल फौजदारी अभियोगमा अदालतबाट सजाय पाएका व्यक्ति भएकाले उम्मेदवार बन्न नपाउने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्