Logo

पाटन दरबार क्षेत्रमा पुनःनिर्माण आधा सम्पन्न



ललितपुर, १८ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन सम्पदा क्षेत्रमा भूकम्पमा क्षतिग्रस्त भएका संरचनाको पुनःनिर्माण झण्डै आधा सकिएको छ ।

सुन्दरीचोकको पूर्वी भाग, मूल दक्षिणी तलेजु, योग नरेन्द्र मल्लको शालिक, भीमसेन मन्दिर अगाडिको सिंह स्तम्भ र बहादुर शाहको बैठक भवनको पुनःनिर्माण सकिएको छ । काठमाडौँ उपत्यका संरक्षण कोषले यस क्षेत्रमा पुनःनिर्माणको काम गरिरहेको हो ।

कोषले लक्ष्यभन्दा पनि अघि सक्ने गरी काम गरिरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई वर्ष पहिले काम शुरु गरेकामा अब डेढदेखि दुई वर्षमा सकिने देखिएको छ ।” कोषले पाँच वर्षसम्ममा काम सक्ने लक्ष्य लिएको थियो ।

उत्तरी मणिमण्डपको काम सकिने चरणमा छ । कृष्ण मन्दिरको भित्री भागको काम अन्तिममा पुगेको छ । हरिशंकर मन्दिर, चारनारायण मन्दिर, विश्वनाथ मन्दिर र दक्षिणी मणिमण्डपको काम अहिले भइरहेको छ ।

यस क्षेत्रमा भूकम्पले क्षतिग्रस्त स्मारक पुनःनिर्माणको काम कोषले गरिरहेको छ । भूकम्प आउनु पहिले पनि कोषले यस क्षेत्रमा काम गरिरहेको थियो ।

सरकारी पहलमा भने दरबार क्षेत्रभन्दा बाहिर काम भइरहेको प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “कोषले गरिरहेको काममा हामीले समन्वय गरिरहेका छौँ भने नगरका अरु स्मारकमा विभागमार्फत हामीले पुनःनिर्माणको काम गरेका छौँ ।” रासस

 



प्रतिक्रिया दिनुहोस्