Logo

चन्दा त्रासले गुप्तवास



काठमाडौं २१ कार्तिक ।
आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा मुलुक निर्वाचनमय बन्दै गएको छ ।मुलुकका सबै क्षेत्रका व्यक्तिलाई यसले उत्साही तुल्याएको भए पनि निजी क्षेत्रका अधिकांश उद्यमी व्यवसायी भने गुप्तवास बस्न थालेका छन् ।

विगत वर्षहरूमा जस्तै यसपटक पनि डर र धम्की देखाएर चन्दा असुल्ने भयले उनीहरू राजनीतिक दलहरूको सम्पर्कबाट टाढै बस्न खोजेका हुन् । उद्यमी व्यवसायीहरू चुनावी माहोलमा रमाउन नसकिरहेको बेला राजनीतिक दलहरूले भने चन्दाको शैली परिमार्जन गरी केही लचिलो बन्ने प्रयास गरेका छन् । उनीहरूले विगतमा जसरी डर र धम्कीपूर्ण तरिकाले नभई स्वेच्छिक रूपमा सहयोग गर्न व्यवसायीलाई आग्रह गरिरहेका छन् ।

निजी क्षेत्रका उद्यमी व्यवसायीहरूको संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष हरिभक्त शर्माले जथाभावी रूपमा चन्दा माग गर्ने परिपाटीको अन्त्य गरी यसलाई कानुनी दायरामा ल्याउन आवश्यक भएको बताए । ‘दलहरूले आफ्नो विधानमा नै आयस्रोतका रूपमा चन्दालाई नै देखाएकाले उनीहरूले चन्दा माग गर्नु स्वाभाविक नै हो,’ उनले भने ‘यद्यपि यसलाई पारदर्शी बनाई कसले कति लियो र कसले कति दियो भन्ने प्रस्ट व्यवस्था हुनुपर्छ ।’

चन्दालाई व्यवस्थित गर्न राज्यले नै एउटा प्रस्ट नीति निर्देशनसहितको कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष शर्माले त्यस्तो हुन नसके यसले विकृति निम्त्याउने दाबी गरे ।

दलहरूले विधानमै अन्य आयस्रोत नदेखाई चन्दालाई नै प्रमुख स्रोतका रूपमा देखाएकाले व्यवसायीहरू पनि सक्दो सहयोग गर्नबाट पन्छिन नहुने उल्लेख गर्दै उनले यसका लागि दलहरूले प्रस्ट आधार भने तयार गर्नुपर्ने खाँचो औंल्याए ।

निर्वाचनपछि मुलुकको विकास निर्माणको खाका कोर्न र मुलुकलाई समृद्ध बनाउन मार्गनिर्देश गर्ने दलहरू नै भएकाले निर्वाचन र उनीहरूको सकारात्मक कार्यलाई सबैले आआफ्ना स्थानबाट सहयोग गर्नु आवश्यक भएको उनको भनाइ छ । यद्यपि दलहरूले निजी क्षेत्रको भावना नबुझी विगतमा जस्तै बेहिसाबमा चन्दा माग गर्न भने नहुने उनको प्रस्ट दृष्टिकोण छ ।विगतमा चन्दाका लागि बढी नै दबाब आउने गरेकोमा यसपटक त्यसको शैली भने बदलिएको उनले सुनाए । ‘चन्दा माग गर्नेहरूको चाप निजी क्षेत्रमा धेरै नै रहेको भए पनि दलहरूको शैली भने फेरिएको छ,’ शर्माले भने, ‘यसले चन्दा दिनैपरे पनि एकखालको सकारात्मक प्रभाव पार्छ ।’

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सुरेन्द्रवीर मालाकारले पछिल्ला दिनमा चन्दा माग गर्नेहरू बढेको उल्लेख गर्दै यसलाई व्यवस्थित बनाइनुपर्ने आवश्यकता औंल्याए । ‘दलहरूले चन्दा माग गर्नु स्वाभाविकै हो,’ मालाकारले भने, ‘चन्दाको नाममा अदृश्य रूपमा नभई पारदर्शी रूपमा कारोबार हुनुपर्छ ।’
राजनीतिक दलहरूले चुनावको मौकामा व्यवसायीहरूसँग चन्दा माग गर्नु स्वाभाविक नै भए पनि चन्दा दिँदा चेकमार्फत दिने व्यवस्था हुनुपर्ने उनको तर्क छ । चेकमार्फत कारोबार हुँदा त्यसको पारदर्शिता बढ्ने उनको तर्क छ ।सीएनआईका अध्यक्ष शर्मा र चेम्बरका पूर्वअध्यक्ष मालाकारले विगतमा जस्तो डर र धम्कीपूर्ण तरिकाले चन्दा माग्ने काम नभएको बताइरहेपछि निजी क्षेत्रको एउटा ठूलो जमात भने अहिले राजनीतिक दलहरूको दबाबलाई झेल्न नपरोस् भनेर उनीहरूको पहुँचबाट टाढै रहेका छन् ।

दलहरूले मागेपछि दिनैपर्ने भएकाले उनीहरूको सम्पर्कबाट टाढै रहनुपर्ने अवस्था आएको नेपाल उद्योग वाणिज्य महासंघका एक अधिकारीले बताए । दलहरूको सम्पर्कमा नै नआएपछि ढुक्क हुने भएकाले यस्तो शैली अपनाउनुपरेको तर्क उनले गरे । निर्वाचनका क्रममा सबैजसो राजनीतिक दलहरूले उद्यमी व्यवसायीबाट चन्दा माग गर्ने गर्छन् । त्यसक्रममा उनीहरूले सबैलाई चन्दा दिन बाध्य पार्ने भएकाले व्यवसायीहरू चुनावबाट डराउने गर्छन् । चन्दाकै कारण अन्य व्यक्तिहरूले जसरी यो अवसरमा रमाउन नपाइने व्यवसायीहरूकै तर्क छ ।
विगत वर्षहरूमा जबर्जस्ती रूपमा चन्दा उठाइएको गुनासो आउने गरेको भए पनि यसपटक कमसे कम स्वेच्छिक रूपमा चन्दा दिन पाउने अवसर आउनु भने राम्रो हो । यसलाई स्वयं व्यवसायीहरूले नै सकारात्मक रूपमा लिएका छन् ।
राजधानीबाट



प्रतिक्रिया दिनुहोस्