Logo

दुर्गम बस्तीको विद्यालय आर्थिक संकटमा



म्याग्दी, २१ कार्तिक। दुर्गम क्षेत्रमा रहेको एक विद्यालय आर्थिक संकटमा परेको छ । रघुगंगा गाउँपालिका– ६ ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालय निजी स्रोतका शिक्षकको तलब सुविधा जुटाउन नसकेर संकटमा परेको हो ।

प्रावि तहका तीन जनाको दरबन्दी रहेको विद्यालयमा चार निजी स्रोतका शिक्षक कार्यरत छन् । कक्षा ८ सम्म पठनपाठन हुने सो विद्यालयमा ८० बालबालिका अध्ययनरत छन् ।

दुर्गम बस्ती भएकाले विद्यालय सेवा क्षेत्रका अधिकांश अभिभावकको आर्थिक अवस्था कमजोर रहेको र विद्यालयले चार शिक्षकको नियमित रुपमा तलबभत्ता जुटाउनुपर्दा आर्थिक समस्या भएको प्रअ खिममाया छन्त्यालले बताउनुभयो ।

‘‘चन्दा संकलन र देउसीभैलोबाट विद्यालय चलाएका छौँ, अर्थ अभावले भौतिक पूर्वाधार समेत निर्माण हुनसकेको छैन्,’’, प्रअ छन्त्यालले भन्नुभयो । विसं २०७२ को भूकम्पबाट पूर्ण रुपमा प्रभावित भएको सो विद्यालयमा अहिले पनि बालबालिका अस्थायी टहरामा बसेर अध्ययन गर्न बाध्य छन् ।

विभिन्न संघसंस्था तथा सहयोगदाताबाट अर्थ संकलन गरी निर्माण गरिएको टिनको अस्थायी टहरामा बसेर अध्ययन गर्नुपर्दा विद्यार्थीलाई कष्टकर भएको छ ।

पानी पर्दा हिलो हुने, घाम लाग्दा पोल्ने, कापीकिताब भिज्ने, चिसो हुने र होहल्ला बढी हुने समस्या रहेको कक्षा ८ की छात्रा पुनम छन्त्याल बताउँछिन् । पूर्वाधार अभावका कारण विद्यार्थीको सिकाइ र पढाइमा असर परेको छ ।

जिल्ला शिक्षा कार्यालयको रु १९ लाख ५० हजार अनुदान र स्थानीय बासिन्दाको रु पाँच लाख बराबरको श्रमदानमा तीनकोठे तथा अमेरिकाको ग्लोबल न्युट्रेशन एण्ड इमपावरमेन्ट संस्थाको सहयोग र समुदायको रु एक लाख बराबरको श्रमदानमा अर्को दुईकोठे भवन निर्माण भएपछि विद्यालयलाई केही राहत मिलेको छ ।

पाँच कक्षाका विद्यार्थीलाई नयाँ भवनमा राखेर अध्यापन गर्न थालिए पनि अझै तीन कक्षाका विद्यार्थीलाई टिनको टहरामै राखेर अध्यापन गराउने गरिएको प्रअ छन्त्यालले बताउनुभयो ।

अहिले पनि कक्षाकोठा भवन निर्माणधीन रहे पनि विद्यालयका कार्यालय, पुस्तकालय, प्रयोगशालालगायतको प्रयोजनका लागि पूर्वाधार अभाव हुने विद्यालयका शिक्षक उमेश पौडेलले बताउनुभयो ।

साना बालबालिकालाई घण्टौँ हिँडेर स्कूल जानुपर्ने बाध्यता हटाउन २०६९ सालदेखि विद्यालयमा ६ देखि ८ कक्षासम्मको थप पठनपाठन शुरु गरिएको थियो तर समुदायले चालेको पहलमा सरोकार भएका निकाय र सरकारी तवरबाट सहयोग नहुँदा विद्यालय संकटमा परेको हो । भवन अभावकै कारण विद्यालयमा अहिलेसम्म पुस्तकालय छैन ।

पुस्तकालय र कम्युटर ल्याब नहुँदा विद्यार्थी खोजी गरी अध्ययन गर्ने अवसरबाट वञ्चितमा परेका छन् । यसैबीच केन्द्रीय विद्युत्को पहुँच नपुगेका कारण विद्यालयमा शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग हुन सकेको छैन ।

स्थानीयस्तरमा लघुजलविद्युत् आयोजनाबाट रातमा मात्रै बिजुली आउने र केन्द्रीय विद्युत्को पहुँच नपुगेकाले विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन गर्ने तयारी गरिए पनि समस्या देखिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot