Logo

१८ वर्षपछि पुन: कमल थापासँग मैदानमा



काठमाडौं २२ कार्तिक । मकवानपुर क्षेत्र नं. १ ले चिरपरिचित प्रतिस्पर्धी उम्मेदवार पाएको छ । २०४८, २०५१ र २०५६ सालका प्रतिद्वन्द्वी चौथो पटक भिड्दै छन् । उनीहरूबीच तीनवटा आम निर्वाचनमा चलेको रोचक प्रतिस्पर्धा १८ वर्षपछि फेरि दोहोरिएको छ । लोकतान्त्रिक गठबन्धनबाट राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा यस क्षेत्रमा प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । सोही क्षेत्रमा वामपन्थी गठबन्धनबाट कृष्ण दाहाल मैदानमा छन् ।

दुवै संविधानसभा चुनावमा भने दुई नेतामध्ये एक छान्नुपर्ने अवस्था यहाँका मतदातालाई आएन । २०६४ मा कमल थापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार भए । २०७० मा उनले श्रीमती प्रमिला थापालाई क्षेत्र नम्बर १ बाटै उम्मेदवार बनाए तर, आफूचाहिँ समानुपातिकमा बसे ।

एमाले नेता कृष्ण दाहाल २०६४ र ७० दुवै चुनावमा उम्मेदवार बनेनन् । संविधान जारी पश्चात्को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको समर्थनमा थापा र माओवादीको सहयोगमा दाहाल उम्मेदवार बनेर कडा प्रतिस्पर्धा गर्दै छन् । थापा र दाहाल एक– अर्काको उम्मेदवारीको प्रतीक्षामा बसेका जस्ता देखिन्छन् । ‘एकले अर्काको बदला लिने हिसाबले उम्मेदवारी दिएका होइनौं, यो संयोगमात्र हो,’ दुवै उम्मेदवारले भने, ‘हाम्रो बीचमा कुनै कटुता छैन ।’

मुलुकको तरल राजनीतिक अवस्थाको भरपुर फाइदा उठाउन सक्ने शिल्पकारी राजनीतिक खेलाडीको पहिचान बनाएका कमल थापाले बहुदलीय व्यवस्थायता मकवानपुरबाट चार पटक चुनाव लडिसकेका छन् । जसमध्ये एक पटकमात्र उनलाई सफलता मिलेको छ ।

२०४८ सालको आम निर्वाचनमा मकवानपुर १ मा एमालेका दाहालले थापालाई करिब ५ हजार मतान्तरले पराजित गरेका थिए । दाहालले १४ हजार १ सय ८४ मत पाउँदा थापा ९ हजार ८ सय २५ मतका साथ दोस्रो भए ।

२०५१ को मध्यावधि निर्वाचनमा भने परिणाम उल्टियो । कमल थापाले १६ हजार ७ सय ५३ मत पाएर सांसद जित्दा दाहाल १५ हजार ८२ मतका साथ दोस्रो भए । त्यतिबेला थापा मकवानपुर २ बाट पनि चुनाव लडेका थिए । तर, एमालेका विरोध खतिवडासँग पराजित भए । २०५६ को आमनिर्वाचनमा फेरि परिणाम उल्टियो । कमल थापालाई कृष्णप्रसाद दाहालले करिब ५ हजार मतान्तरमै पराजित गरे । उक्त निर्वाचनमा थापा मकवानपुर ३ बाट पनि उम्मेदवार थिए । तर, त्यहाँ एमालेका वीरबहादुर लामासँग करिब २ हजार मतान्तरले पराजित भए । पञ्चायतकालीन राजनीतिक हस्ती थापा २०६४ सालको संविधानसभा निर्वाचनमा मकवानपुर ३ बाट उम्मेदवार बनेर तेस्रो भएका थिए ।

चौथो पटकको प्रतिस्पर्धामा मकवानपुर १ का मतदाताले कसलाई रोज्ने हुन्, अहिले नै अनुमान लगाउन कठिन छ । कांग्रेससँगको सहकार्यमा आफ्नो विजय सुनिश्चित भएको दाबी थापाले गरेका छन् । जिल्लाको समग्र विकासका निम्ति सबैखाले मतदाताले आफूलाई रोज्नेमा उनी ढुक्क छन् । एमालेको मात्र संगठनको बलमा दुई पटक विजयी भएका दाहालले माओवादी केन्द्रसँगको चुनावी एकताले आफ्नो विजयलाई थप सुनिश्चित बनाएको जिकिर गरे । हालसम्मका तीनवटा भिडन्तमा दाहालले दुईपटक जितेका छन् भने कमल थापाले एक पटकमात्र । यो चुनावमा थापाले दाहाललाई जितेर बराबरी पुर्‍याउने हुन् वा दाहालले ह्याट्रिक गर्ने हुन् ? यो नै अहिले प्रतीक्षाको विषय बनेको छ । स्थानीय तहको निर्वाचनलाई नियाल्दा यस क्षेत्रमा वाम गठबन्धनको ४० हजार १ सय ३६ मत देखिन्छ भने लोकतान्त्रिक गठबन्धनको ३२ हजार ४ सय ९७ मत रहेको छ ।



प्रतिक्रिया दिनुहोस्