Logo

वामपन्थी गठबन्धनलाई जिताउन आग्रह



उर्लाबारी, मोरङ, २२ कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य डा शिवमाया तुम्बाहाम्फेले दिगो सरकार र समृद्ध शहर बनाउने अभियानका लागि वामपन्थी गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ ।

मोरङको केराबारीमा मंगलबार क्षेत्र नं १ निर्वाचन परिचालन कमिटी ख को आयोजनामा भएको अगुवा कार्यकर्ता भेलामा बोल्दै तुम्बाहाम्फेले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको चुनावी तालमेल सफल बनाएर वाम एकताको पक्षमा जनमत सिर्जना गर्न पनि आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं मोरङ क्षेत्र नं १ क बाट प्रदेश सभा सदस्यका उम्मेदवार कुलप्रसाद साम्बा ९कुशल० ले एमाले र माओवादी केन्द्रबाट को उम्मेदवार भयो भन्ने विषय ठूलो नभएको बताउँदै देश र जनताको हितका लागि वामपन्थी उम्मेदवारलाई इमान्दारिताका साथ मतदान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

एमाले र माओवादी केन्द्र भनेर एक अर्कालाई भोट नदिने कार्य भए वामपन्थीले वर्षौंसम्म थिचिएर बस्नुको विकल्प नरहेको उहाँको भनाइ छ । वामपन्थी शक्ति एक भएर जनताको हितका काम गर्ने सुवर्ण अवसर आउन लागेको र त्यसलाई सबैले भरपूर सदुपयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

त्यस्तै, एमालेका नेता तथा मोरङ क्षेत्र नं १ बाट प्रतिनिधिसभाका उम्मेदवार घनश्याम खतिवडाले एमाले र माओवादी केन्द्रका कार्यकर्ता चुनावी प्रचारप्रसारमा व्यापकरुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

मोरङ क्षेत्र नं १ ९ख० का प्रदेश सभा सदस्य उम्मेदवार उपेन्द्र घिमिरेले अब वामपन्थी एक ठाउँमा उभिनुको विकल्प नरहेको उल्लेख गर्दै एमाले र माओवादी केन्द्र दुवै पार्टीका उम्मेदवारलाई मतदान गरी जिताउन आग्रह गर्नुभयो । कार्यक्रम मोरङ क्षेत्र नं १ ९ख० निर्वाचन परिचालन कमिटीका संयोजक नन्दलाल धिमालको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्